काठमाडौं । विश्व पृथ्वी दिवस-२०२४ को उपलक्ष्यमा काठमाडौंका विश्व सम्पदा सूचीमा रहेका ३ वटा पुरातात्विक सम्पदाहरुको सरसफाई गरिँदै छ । पृथ्वी दिवसको अवसर पारेर काठमाडौंस्थित स्वयंभु,पशुपति र बौद्ध क्षेत्रमा सरसफाई अभियान संचालन गरिने भएको हो ।
युनिभर्सल पिस स्यन्चुरी मार्फत विभिन्न संघसंस्था र समाजका विशेष व्यक्तित्वहरुको संलग्नतामा वैशाख ८ देखि १० गते बिहान ७ देखि ९ बजे सम्म युनेस्कोले सूचीकृत गरेका विश्व सम्पदा सूचीमा रहेका ३ वटा महत्वपूर्ण पुरातात्विक सम्पदाहरुको सरसफाई गर्ने भएको हो ।
जस अनुसार बैशाख ८ गते स्वयंभु महाचैत्य परिसर, ९ गते पशुपतिनाथ मन्दिर परिसर र १० गते बौद्ध मन्दिर परिसर सफाई अभियान रहेको सरसफाई अभियान सम्वन्वयकर्ता नबिन विकास महर्जनले बताए ।
कार्यक्रममा बागमती सफाई महाभियान एवं सम्पूर्ण नदी, खोला, स्थान अभियानहरुको सहभागिता हुने, उक्त अभियानमा कुहिने र नकुहिने फोहोरहरुलाई व्यवस्थित रुपमा फरकफरक ढंगले संकलन गरी व्यवस्थपान गरिने र अभियानकै रुपमा निरन्तरता दिइने बताइएको छ ।
विश्व पृथ्वी दिवस-२०२४ मा यसपालिको नारा पनि ‘पृथ्वी र प्लाष्टिक’ राखिएको छ । नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धेरै असर प्रभाव परेको ,फोहोरमा अत्यधिक मात्रामा प्लाष्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्यसमेत चुनौतीपूर्ण बन्दै गइरहेको जनाउँदै अभियानले यस्ता विषयमासमेत सचेतना जागृत गर्ने जनाएको छ ।
पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो एउटा दिवस हो, जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरीएको हो । यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ ।
सन् १९६९ अमेरीकाको सान फ्रान्सस्किोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । र पछी अमेरिकी सीनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यस दिन देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरी नै बिश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।
सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरीयोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो । त्यसपछी सन् २००९ मा राष्ट्र सङ्घको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निणर्य गरेको हो ।