April 30, 2024, Tuesday
२०८१ बैशाख १८
1:37:26 pm

युगकवि सिद्धिचरण पुरस्कार प्राडा ठाकुर र युवा पत्रकारिता पुरस्कार कार्कीलाई

665

ओखलढुंगा । युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गर्ने भएको छ । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको ११३औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै तीनदशकदेखि युगकविका कृतित्व र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देशविदेशमा सुयश फैलाउन विशिष्ट योगदान पुर्याएवापत प्रा. डा. ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रदान गर्न लागिएको उल्लेख गरिएको छ । यस्तै लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत योगदान गरेवापत पत्रकार कार्कीलाई युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो । पत्रकार कार्की ओखलढुंगा जिल्लामै रहेर डेढदशक अघिदेखि पत्रकारिता गर्दै आएका छन् ।

Advertisement

प्रतिष्ठानले उपाध्यक्ष प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा सदस्यद्वय प्रा. डा. अभि सुवेदी र प्रा. डा. जयराज आचार्यसहित तीन सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरी सो निर्णय गरेको हो ।