April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

धरानमा कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युङफ्राउ’ माथि विमर्श

6.2K

धरान। साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युङफ्राउ’ बारे विमर्श कार्यक्रम सम्पन्न भएको छ । सोमबार धरानमा ‘युङफ्राउ–संवार्ता’ कार्यक्रममा ‘डायस्पोरिक लेखन’ बारे पनि विमर्श भएको हो ।

महेन्द्र बहुमुखी क्याम्पसको नेपाली विभागको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्राडा सागरमणि सुवेदीले सङ्ग्रहका नियात्राहरू सुन्दर रहेको धारणा व्यक्त गरेका थिए । उनले सङ्ग्रहका नियात्राहरूबाट साहित्यकार बजगाईंमा अनुसन्धाता व्यक्तित्व पनि रहेको प्रस्ट हुने बताए । प्राडा सुवेदीले बजगाईंको नियात्रा आफूले स्नातक तहका विद्यार्थीलाई पढाइरहेको सुनाउँदै नयाँ सङ्ग्रहका रचनाहरू पनि पाठ्यक्रममा राख्न योग्य धारणा राखे ।

त्यस क्रममा सहप्राध्यापक डा राम्जी तिमल्सिनाले सङ्ग्रहमा सङ्कलित नियात्राहरूको विश्लेषण विभिन्न कोणबाट गरेका थिए । बजगाईंका नियात्राहरूमा पाठकलाई पनि आफूसँगै घुमाउन सक्ने क्षमता भएको तिमल्सिनाको भनाइ छ । कतिपय नियात्रामा ऐतिहासिक तथ्यहरूको बोझ बढी भए पनि अधिकांश रचनाहरू नियात्रात्मक तत्वका दृष्टिबाट सफल रहेको उनले बताए । रचनाहरू पठनीय भएको बताउँदै तिमल्सिनाले भने, ‘रचनाहरूमा सम्बन्धित स्थानका दृश्यहरू जीवन्त बनेर आएका छन् ।’ यो नै उनका रचनाको शक्ति भएको उनको ठहर छ ।

Advertisement

कार्यक्रममा ‘डायस्पोरिक लेखन’ बारे पनि विमर्श भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपाने र परिचर्चाकार तिमल्सिनाले व्यक्ति डायस्पोरिक हुनु र रचना डायस्पोरिक हुनु भिन्न विषय भएको बताए । स्रष्टा डायस्पोरामा बस्नेबित्तिकै तिनका सबै रचना डायस्पोरिक नहुने उनीहरूको विचार थियो । डायस्पोरिक रचनामा हुनुपर्ने गुण भए मात्र रचनाहरू डायस्पोरिक हुने विमर्शको निष्कर्ष थियो । विदेशमा बसेर पनि नेपालकै सन्दर्भ र नेपालकै विषय मात्र लेखिएको साहित्यलाई डायस्पोरिक भन्न नसकिने प्राडा न्यौपानेले बताए ।

नियात्राकार बजगाईँले जर्मनी भाषाबाट लिइएको ‘युङफ्राउ’ शब्दको अर्थ नेपालीमा ‘कुमारी’ हुने बताए । स्वीट्जरल्यान्डको पर्यटकीय हिमाल ‘युङफ्राउ’ लाई जस्तै नेपालका हिमालहरूलाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे उनले बताए । नेपाली विभागका प्रमुख डा दीपक न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका सदस्य डा सुभाषचन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने उपप्राध्यापक राजेश विद्रोहीले कार्यक्र सञ्चालन गरेका थिए ।

‘युङफ्राउ’ मा ग्रिस, पोर्चुगल, स्वीट्जरल्यान्ड र बेलायतका विभिन्न स्थानका भ्रमणसँग सम्बन्धित २७ वटा नियात्राहरू सङ्कलित छन् । धरानमा रहँदा कवितालेखनबाट साहित्यिक यात्रा थालेका बजगाईंले लघुकथा, बालकथा र नियात्रा लेखनमा आपूmलाई केन्द्रित गरेका छन् । उनको यो पाँचौँ नियात्रा–सङ्ग्रह हो भने १८ औँ कृति हो । उनका रचनाहरू विद्यालय तहदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा समावेश छन् ।