काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको लिम्बू कवितासंग्रह ‘सेप्म्माङलक’ र भिमकुमार सेलिङको ‘ओयाम दर्पण’ कृति सार्वजनिक भएको छ । दुवै कृति शनिबार काठमाडौंमा आयोजित एक साहित्यिक जमघट वीच संयुक्त रुपमा विमोचित भएका हुन् ।
वरिष्ठ कवि, मुन्धुमविद तथा पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त विमोचन कार्यक्रममा वरिष्ठ कवि श्रवण मुकारुङ, प्राज्ञ अमर तुम्याहाङ, अनुसन्धानकर्ता येहाङ लावती र लेखक जिके पोख्रेल वक्ताको रुपमा उपस्थित थिए ।
शिक्षकसमेत रहेका भिमकुमार सेलिङ श्री गुप्तेश्वर माध्यमिक विद्यालय याङ्वरक ३, ओयामका पूर्व प्रअ हुन् । यसअघि सेलिङको ‘शिक्षामा चौवालीस वर्ष’ पुस्तक प्रकाशित छ । ‘ओयाम दर्पण’ उनको दोस्रो कृति हो ।
समाजसेवामा समेत सक्रिय गीतकार तथा लेखक लिला सेलिङ भिमकुमारकै सुपुत्री हुन् । आधा दर्जन भन्दा बढी गीत रेकर्ड गराइसकेकी लिलाको यसअघि अंग्रेजी भाषामा ‘मेमोरिज अफ गोर्खा ड्युरिङ लकडाउन’ संस्मरण पुस्तक र ‘लाहुरेनी पीडा’ कवितासंग्रह प्रकाशित छ भने सुब्बा, सुभाङी र निशान बारे खोजमुलक लेखहरू पनि लेखेकी छन् । उनले विभिन्न पुरस्कारसमेत प्राप्त गरेकी छ्न्।
नेपाली, अंग्रेजी र लिम्बू भाषामा पुस्तक लेखेकी सेलिङले अब विशुद्ध लिम्बू भाषामा पनि पुस्तक लेखिनुपर्ने भएको हुँदा लिम्बू भाषामा संग्रह निकालेको बताइन् । सेलिङले नेपाल मामिलासँग भनिन्, ‘विद्यालयमा आनि पा:न् पढाई लागू हुनु अघि नै हामीले पाँचथरबाट अभियान संचालन गरेका थियौं । आनि पा:न लागू गराउनका लागि २०५५ साल असार ११ गतेदेखि १३ गतेसम्म ३ दिने सेमिनार गरेकाथियौं। त्यतिबेला १८ जना लिम्बू शिक्षकलाई तालिम दियौं। मेरो साहित्य लेखन कविताबाटै सुरु भयो । अब शुद्ध खस भाषामा पनि लेखिनुपर्छ भन्ने लागेर कविता लेखें ।’
उनले यसअघि भनिन्, ‘आजसम्म गोरखा बारे जति पुस्तक आए, त्यसमा महिलाहरूको भोगाई र जीवन खासै आएन । त्यसैले महिलाको आवाज र भोगाइ लेखिनुपर्छ भनेर अंग्रेजीमा पुस्तक लेखें। खसमा भाषामा पनि पुस्तक निकालेँ ।’
बुबाछोरीको एकैपटक पुस्तक निस्किनु एउटा संयोग रहेको उनले बताइन्। ‘मैले वहाँसँगै आफ्नो पुस्तक विमोचन गर्न पाउनु मेरो लागि वहाँकै आशिर्वाद हो । वहाँसगै कलम चलाउन पाउँदा मलाई उर्जा मिल्छ’, उनले बताइन् ।
सेलिङ हाल बेलायतमा रहँदै आएकी छन् ।