November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

साकेलामा सर्वदलीय वैठक: पालिकाको विकासमा सहयोग गर्ने प्रतिवद्धता

1.7K

साकेला । साकेला गाउँपालिकामा भईरहेका विकासका कार्यहरुलाई अघि बढाउन निश्वार्थ भावनाका साथ सहयोग गर्ने क्रियाशिल राजनैतिक दलका प्रतिनिधिहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । साकेला गाउँपालिकाले आईतबार क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग आयोजना गरेको सर्वदलीय वैठकमा प्रतिनिधिहरुले गाउँपालिकाभित्र भईरहेका हरेक विकासका कामहरु प्रति सहयोग, समन्वय र संरक्षण गर्ने प्रतिवद्धता जनाएका हुन् ।

गाउँपालिका प्रमुख रवि प्रकाश राईले गाउँपालिकाको तर्फबाट हालसम्म भएको कार्यहरु, सम्पूर्ण संरचनाहरुको संरक्षण तथा स्वामित्व ग्रहण, पूर्ण सरसफाई कार्यक्रम कार्यान्वयनको अवस्था, हाल सञ्चालन भईरहेका र हुने क्रममा रहेका योजना तथा गाउँपालिकाको विकास प्रयासको आगामी कार्यदिशा सम्बन्धि गतिविधिबारे जानकारी गराएका थिए ।

गाउँपालिकाले हाल गरिरहेको कृषि, शिक्षा, पर्यटन, सामाजिक सुरक्षा तथा संरक्षण, खानेपानी, भौतिक विकास, सडक, विद्युत र सामाजिक विकासबारे संक्षिप्त अवधारणा गाउँपालिका प्रमुखको तर्फबाट राख्नुभएपश्चात क्रियाशिल राजनैतिक दलका प्रतिनिधिहरुबाट गाउँपालिकाको समृद्धिका लागि भईरहेको हरेक विकासका काममा आफूहरुको साथ रहेको प्रतिवद्धता व्यक्त भएको थियो ।
नेपाली काँग्रेसको तर्फबाट पालिका सचिव बबिन कटवाल, नेकपा एमाले पालिका किमिट अध्यक्ष आश्विनचन्द्र राई, जनता समाजवादी पार्टी जसपाका शिवप्रसाद फुयाल, एकीकृत समाजवादी पार्टीको तर्फबाट फूलकुमार राई र राप्रपा नेपालका अध्यक्ष रामचन्द्र राईले पालिकाको विकासको लागि निरन्तर प्रयत्नशिल भएर लागि पर्ने र निश्वार्थ भावनाका साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको साकेला गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष जीवन न्यौपाने खत्रीले जानकारी दिए ।

Advertisement

गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाको विकासका लागि कुनै जातजाति, धर्म, वर्ग, भूगोल, आस्थाको आधारमा विभेद नगरेको बताउनुहुँदै सबै पक्षको साथ, समन्वय र सहकार्यको कारणले पालिकालाई समृद्धिको गन्तव्यमा लैजान सकिने धारणा व्यक्त गरे । अध्यक्ष राईले भने, ‘हामी साकेला गाउँपालिकालाई आत्मनिर्भर बनाई हरेक क्षेत्रबाट समृद्ध बनाउन मार्गचित्र कोरिरहेका छौं, नीति नियम र कानून बनाएर भविष्यप्रतिको सोंच लिएर अगाडि बढिरहेका छौं, हामीले बनाएको विकासे नीतिलाई कार्यान्वयन गर्न सके समृद्ध साकेला निर्माण गर्न कुनै समय लाग्दैन ।’ उनले साकेला गाउँपालिकामा भईरहेको भौतिक विकास, आर्थिक सामाजिक क्षेत्रको विकासमा सबै पक्षसँग हातेमालो र समन्वय गरि अघि बढिरहेको बताए ।

गाउँपालिकाले हालसम्म गरेको र गरिरहेको समग्र क्षेत्रको गतिविधिबारे जानकारी दिने उद्देश्यले सर्वदलीय वैठकको आयोजना गरेको थियो । साकेला गाउँपालिकामा हालको अवस्थामा छ वटा राजनैतिक दल क्रियाशिल अवस्थामा रहेका छन् । गाउँपालिकाले आयोजना गरेको उक्त सर्वदलीय वैठकमा नेकपा माओवादीको तर्फबाट भने कोही प्रतिनिधि पनि उपस्थित भएनन् ।