November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

१० बुँदे समसामयिक प्रस्तावहरु पारित गर्दै मासम नेपालको बैठक सम्पन्न

2K

काठमाडौं । नेपालको मानवअधिकार आन्दोलनमा सबैभन्दा अग्रणी संस्था मानवअधिकार संरक्षण मंच (मासम) नेपालको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । सोमबार काठमाडौं अनामनगरस्थित यूनियन हाउसमा केन्द्रीय अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

बैठक पूर्व आठौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष नवदत्त ढुंगानाले पदहस्तान्तरण गरेका थिए । पदहस्तान्तरण कार्यक्रममा बरिष्ठ मानवअधिकारवादी नेता सुशिल प्याकुरेलले सबैलाई शुभकामना सहित मासम नेपालको इतिहासका विषयमा चर्चा गर्नु भएको थियो ।

त्यसैगरी बैठकलाई मासम नेपालका पूर्व अध्यक्ष तथा संरक्षक विश्वकान्त मैनालीले आफ्नो अनुभवसहित मासम नेपालले लिनुपर्ने रणनीतिका विषयमा चर्चा गर्दै नव निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिएका थिए । बैठकले वार्षिक कार्ययोजना पारित गर्दै संगठन विभाग, प्रचार विभाग तथा आर्थिक विभाग समेत गठन गरेको छ ।

Advertisement

बैठकबाट पारित गरेका समसामयिक प्रस्तावहरु निम्न छन्ः
१. मासम नेपालको गौरवपूर्ण इतिहास बोकेको सबैभन्दा पुरानो मानवअधिकारवादी संस्थालाई राष्ट्रव्यापी बनाउने पुनः प्रतिबद्धता दोहोर्याउँदै ७ वटै प्रदेशहरुमा प्रदेश स्तरीय कार्यसमिति गठन गरिसक्ने र हरेक जिल्लामा मानवअधिहकार रक्षक निर्माण गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।

२. संवैधानिक आयोगहरु गठन भएको यतिका वर्ष वितिसक्दा समेत मानवअधिकारको हनन भएका वर्ग समुदायमा निरासा थपिन गएकोप्रति गम्भिर हुंदै सबै संवैधानिक आयोगहरु र सत्यनिरुपण तथा मेलमिलाप आयोगले पीडितहरुको स्वामित्व र न्याय हुने गरी तत्काल सक्रमणकालिन न्यायको काम पूरा गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।

३. विश्व आर्थिक संकट, भूमण्डलीय उष्णीकरणका कारण उत्पन्न जलवायु परिवर्तनबाट उत्पन्न संकट, अन्तरराष्ट्रिय ऋण लगायतका संकटहरुका कारण गरिब, सिमान्तीकृत र वहिष्करणमा पारिएका जोखिम उन्मुख समुदायको जीविकोपार्जनमा झन् वढी प्रभाव पर्न जाने भएको हुँदा उक्त समुदायको जीविकोपार्जन सुनिश्चित गर्न माग गर्दछ ।

४. नेपालमा देखिएका सडक दुर्घटनाहरुको भयावह स्थितिलाई सम्बोधन गर्नका लागि तत्काल सडक सुरक्षा परिषद्को गठन र नेपाल सरकारको सडक सुरक्षा कार्ययोजनाको कार्यान्वयनका साथै सडक सुरक्षाका सम्बन्धमा आवश्यक अध्ययन गरी नीति नियम निर्माण र परिमार्जनका लागि एक उच्चस्तरीय आयोग गठन गर्नका लागि माग गर्दछौँ ।

५. हालै जाजरकोट, बझांग तथा रुकुमपश्चिमलगायतका जिल्लाहरुमा गएको भूकम्पबाट प्रभावित मानिसहरुको जीवन यापनमा परेको कठिनाइलाई दृष्टिगत गरी सरकारी प्रतिबद्धता अनुसार तत्काल उचित क्षतिपूर्ति तथा पुननिर्माणको काम अविलम्ब सञ्चालन गर्न माग गर्दछ ।

६. नेपाल पक्ष राष्ट्र भएका मानवअधिकार सम्वन्धी सम्पूर्ण अन्तर्राष्ट्रिय महासन्धि, आलेख तथा प्रतिवद्धताहरुको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दछौँ ।

७. दक्षिण एशियाली जनताले भोग्नु परिरहेको मानवअधिकार, जातीय छुवाछुत तथा भेदभाव, जलवायु न्याय, मानव बेचबिखन, आप्रवासन, वैदेशिक रोजगारी र समुद्रतटका जनताले भोग्नु परिरहेको साझा समस्यालगायतका सवाललाई क्षेत्रीय विशिष्टताको आधारमा हल गर्न दक्षिण एशियाली मानवअधिकार संरचना गठन गर्ने कुरामा मानवअधिकारप्रति सर्वाधिक प्रतिवद्ध मुलुकका नाताले पहल गर्न माग गर्दछौं ।

८. “अर्को विश्व संभव छ” भन्ने मूल नाराकासाथ यहि २०८० फागुन ३ देखि ७ गतेसम्म काठमाडौंमा सम्पन्न विश्व सामाजिक मंचमा विश्वभरिका ९१ देशका मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाहरुद्धारा जाहेर गरेको सरोकारप्रति ऐक्यबद्धता जाहेर गर्दै विश्व सामाजिक मंचलेजारी गरेका प्रतिबद्धता तथा घोषणाहरु कार्यान्वयन गर्न सम्बन्धित पक्ष समक्ष माग गर्दछ ।

९. रौतहट जिल्लामा लहान र नेपालगंज घट्नाको पुनरावृति हुने गरी घटाइएको घट्नाप्रति ध्यानाकर्षण भएको छ । सो घट्नाका दोषीलाई कार्वाही गर्न नेपाल सरकार समक्ष माग गर्दछौं ।

१०. सामानको ढुवानी गर्दा ट्राफिक प्रहरीद्धारा एउटै मालवहान गाडीलाई २०औं स्थानमा चेक गरी अनावश्यक दुःख दिनुभन्दा सामान लोड गर्ने स्थान र पुरयाउने स्थानमा भरपर्दो अनुगमनको व्यवस्था गर्न माग गर्दछ ।

अन्त्यमा, मुलुकमा अन्त्यन्तै अप्ठयारो परिस्थितिमा शान्ति, लोकतन्त्र र मानवअधिकारको माग गर्दै वि.सं. २०४१ सालमा गठन भएको नेपालको प्रथम अग्रणी मानवअधिकारवादी संस्था मासम नेपालले उठाएको शान्ति, लोकतन्त्र तथा मानवअधिकार र सामाजिक न्यायको झण्डामा गोलबन्द हुन र हरतरहको सहयोगको लागि सबैमा आव्हान गर्दछौं ।