पोखरा । कवि गीलु रातोसको कविता सङ्ग्रह ‘सिलीदुङ’ माथि विमर्श सम्पन्न भएको छ । शनिबार पोखराको र्यान्डम रिडर्स सोसाइटीमा संग्रहमाथिविमर्श गरिएको हो ।
कृतिमाथि बोल्दै प्राज्ञ राजन मुकारुङले गीलुका कविता पहिचानको मात्र नभई किनरीकृत वर्गको आक्रोशको दस्तावेज भएको बताए । उनले भने, “जब १२४ मध्ये १२३ भाषालाई बेवास्ता गरेर राज्य संयन्त्रले कुनै एउटा भाषालाई मात्रै उच्च प्राथमिकतामा राख्छ, अनि गीलु रातोस जस्ता कविहरू जन्मिन्छन् ।”
नेपाल प्रज्ञा प्रतिष्ठानका साहित्य (मातृभाषा) विभागका संयोजकसमेत रहेका मुकारुङले मातृभाषाको विकासका लागि सरकारले प्रदान गर्दै आएको बजेट पनि कटौती हुनुले फेरि पनि मातृभाषाको संरक्षणमा सरकार उदासीन छ भन्ने बुझ्नुपर्ने पनि बताए ।
मुकारुङले गीलु रातोसले आफ्ना कवितामा उठाएका मुद्दा हरेक किनारीकृत वर्गले आत्मसात गर्नुपर्ने बताए ।
गुरुङ साहित्यिक मञ्चकी संस्थापक अध्यक्ष गौरी तमुले राज्यले नै मातृभाषीलाई खस नेपाली भाषामै आफ्ना अभिव्यक्ति दिन बाध्य पारेको धारणा राखिन् । उनले आम मानिस समक्ष मातृभाषीको अभिव्यक्ति पुर्याउनका लागि पनि नेपाली भाषामै लेख्नुपर्ने खाँचाे औंल्याइन् ।
कार्यक्रमको सहजीकरण गरेका पत्रकार तथा साहित्यकार सुरेश रानाभाटले गीलुको कवितामा उठाइएको पहिचानको स्वरले आफूलाई आकर्षण गरेको बताए ।
कवि रातोसले आफूले जनयुद्धकाक्रममा देखेका सपनाहरूको प्रतिविम्ब कवितामा उतारेको बताए ।
उक्त अवसरमा उनले आफ्ना दुई कविता वाचनसमेत गरेका थिए । थेबाला प्रकाशनले बजारमा ल्याएको कृतिमा उनका ४२ कविता सङ्गृहीत छन् ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा ध्रुव केसी, तेजबहादुर गुरुङ, सुजित साहलगायतले टिप्पणी गरेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव नेपाल प्रकाश अधिकारीले गरेका थिए ।
यहि माघ महिनाको अन्तिम शनिबार हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ माथि सोसाइटीकी पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतको चर्चासहित आयोजना गरिएको अध्यक्ष रुपिन्द्र प्रभावीले जानकारी दिए ।