काठमाडौं । धनगढीका एक व्यवसायीले घरको छतबाट हाम फालेर देह त्याग गरेका छ्न् । परिवारमा अंशवण्डासम्बन्धी विवाद हुँदा व्यवसायी सन्तोष अग्रवालले आफ्नै घरको छतबाट हाम फालेर देह त्याग गरेको पाइएको छ ।
धनगढी उपमहानगरपालिका-४ को बसपार्कस्थित घरको तल्लो तलामा सन्दीप स्टोर सञ्चालन गरेर श्रृङ्गार सामानको होलसेल व्यवसायी अग्रवालको बुधबार नवजीवन अस्पतालमा मृत्यु भएको हो ।
छोरासँग अंशबण्डाको विषयमा विवाद भएपछि घरको पाचौं तलाबाट हामफालेका अग्रवालको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार काठमाडौं बस्दै आएका जेठा छोरा बुधबार बिहान घर आएका थिए । कान्छा छोरा भने सन्तोषसँगै धनगढीमा बस्थे । बिहान आफ्नै पसल सन्दीप स्टोरमा काम गरिरहेका थिए । जेठा छोराले त्यहीँ पुगेर अंशबण्डाको विषयमा कुरा उठाएपछि विवाद भएको थियो । त्यसपछि सन्तोषले छोरालाई ‘तिम्रो आमालाई बोलाएर ल्याउँछु पख’ भन्दै पसलबाट माथि गएका थिए ।
प्रहरीका अनुसार अग्रवाललाई परिवारका सदस्य र छिमेकीले नै अस्पताल लगेका थिए । उनको कान्छा छोराको विवाह केही महिना अघिमात्र भएको थियो । उनको परिवारमा अंशबण्डा सम्बन्धी पहिल्यैदेखि विवाद रहेको समेत पाइएको छ ।
प्रहरीले आधिकारिक रुपमा भने घटनाको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।