April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

धरानमा प्रकाश थाम्सुहाङको ‘शब्दथुम’ माथि चर्चा

प्रकाश दिप्साली
२०८० पुष १५

1.7K

निवन्धकार प्रकाश थाम्सुहाङको पछिल्लो समय सर्वाधिक चर्चामा रहेको निबन्धसङ्ग्रह ‘शब्दथुम’माथि धरानमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र बहुमुखी क्याम्पस धरानको नेपाली विभागको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा शब्दथुममाथि लेखक थाम्सुहाङसँगै कान्तिपुरकर्र्मी पत्रकार दिपक सापकोटा, प्राध्यापक डाक्टर अष्मिता विष्टले बोलेका थिए ।

ब्लाष्टकर्मी पत्रकार भोजराज श्रेष्ठले सहजीकरण गरेको सो चर्चामा वक्ता दिपक सापकोटाले शब्दथुमभित्रका निबन्धहरूमा अस्तित्ववादी चिन्तन रहेको बताए । उनले उनले भने, ‘खासमा शब्दथुमले भुइँ मान्छेको आवाज बुलन्द गरेको छ । रैथाने चेतका निवन्धहरु समेत यसमा पाइन्छ ।’

अर्का वक्ता प्राध्यापक डा.अस्मिता विष्टले शब्दथुम लिम्बु समुदायको निम्ति एउटा दस्ताबेजको रुपमा आएको बताइन् । उनले भनिन्, ‘आफ्नो थातथलोलाई प्राथमिकता दिएको जातिको अस्तित्वलाई माथि उठाउनु सराहनीय भए पनि पहिचानको सवालमा भने आफ्नो समुदायलाई मात्र प्रधानता दिएको हो कि भन्ने महसुस हुन्छ ।’

Advertisement

कृतिका लेखक प्रकाश थाम्सुहाङले शब्दथुममा आफूले जानेका कुरा र आफू नजिकका विषयवस्तुलाई उठान गरेको बताए । ‘मैले अरुको बारेमा त लेख्न सक्दिनँ, लेखे पनि त्यो अपूर्ण जस्तै हुन्छ । त्यसैले पनि म र मेरो समुदायप्रति शब्दथुम केन्द्रित भएको जस्तो लाग्नु स्वभाविक नै हो । मैले यसमा मेरो संस्कृति लेख्न खोजेको छु, र नै ज्यादा लिम्बु स्वाद भेटिन्छ, जो स्वभाविक हो ।’

‘दर्शकदीर्घाको शब्दथुम आउन १७ वर्ष लाग्यो अर्को कृतिको निम्ति कति वर्ष पर्खनु पर्ने ?’ भन्ने प्रश्नको उत्तरमा थाम्सुहाङले भने, ‘लेख्न त माङ चढ्नु पर्दो रहेछ । सायद मेरो माङ अलि अल्छे–अल्छे छ क्यार ! त्यही भएर नयाँ कृति आउन ढिलो भैरहेको छ । सायद अब त्यस्तो ढिलो नहोला । सकेसम्म छिटो गर्ने कोसिस गर्नेछु ।’, उनको यो ठट्यौली उत्तरले सिङ्गो हल हाँसोले भरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भाषाविद प्राध्यापक डा. टंक न्यौपानेले ‘शब्दथुम’ नामैले बडो आकर्षक रहेको बताए । उनले मन्तव्यको क्रममा थपे, ‘हामीले नेपाली भाषालाई फरकफरक ढङ्गले बुझ्दैछौँ । यो अलि सुहाउँदो भएको छैन । हामीले प्रयोगमा ल्याएको भाषा नेपाली भाषा नै हो, अरु केके जाति हैन । प्रकाश थाम्सुहाङको कृतिले सिङ्गो नेपाली भाषा र साहित्यलाई माथि उठाएको छ । थाम्सुहाङ एक अध्येता हुनुहुदो रैछ । म के बोल्नु र तर यति चै हो कि, लिम्बू संस्कृति नेपाली संस्कृति हो । यो खाले नयाँनयाँ आयाम र चिन्तनहरू नेपाली साहित्यलाई आवश्यक छ, जुन काम थाम्सुहाङले गरे । उनलाई सलाम नै भन्छु म त ।’

कवि तथा उपप्राध्यापक राजेश विद्रोहीले सन्चालन गरेको कार्यक्रमका सभाध्यक्ष महेन्द्र बहुमुखी क्याम्पसका नेपाली विभागीय प्रमुख डा. दिपक प्रसाद न्यौपाने रहेका थिए ।