काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कारसंस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताएकी छन् ।
मध्यपश्चिमाञ्चल साहित्य परिषद्को सातौँ साधारणसभामा बोल्दै मन्त्री शर्माले भनिन्, ‘व्यवस्था परिवर्तनका लागि जसरी हामी एकजुट भयौँ, सोहीअनुसार व्यवस्था सुदृढीकरणका लागि सबै निष्ठापूर्वक लाग्नुपर्ने जरुरी छ । समाजका विकृति, विसङ्गती हटाई संस्कार, संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ ।’
उनले समाजका हरेक क्षेत्रमा पहुँच र शक्तिवालाको बोलवाला चलेको उल्लेख गर्दै रीतिथिति र अनुशासन कायम गर्न युवाको भूमिका रहनुपर्ने बताईन् । ‘पहुँचमा रहेकाहरू माथि पुग्ने र निष्ठापूर्वक काम गर्ने पछाडि पर्ने स्थिति छ । यसलाई तोड्नु चुनौतीको विषय हो । यस्तो चुनौती चिर्नका लागि अग्रज व्यक्तिले विगतमा निर्वाह गरेका भूमिका र संस्कार नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्न जरुरी छ’, मन्त्री शर्माले भनिन् ।