हङकङ । नेपाली कथानक चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौं) को मकाउमा प्रदर्शन सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्स इन मकाउका अध्यक्ष सुदर्शन थापा मगरको आयोजना तथा नेपाली जनसम्पर्क मञ्च मकाउ सभापति निर्मला थापा मगरको सहकार्यमा चलचित्रको सफल प्रदर्शन गरिएको हो ।
मकाउको सन्मलोस्थित तेअत्रा क्यापिटल सिनेमा हलमा चलचित्र महानगरको दुई शो प्रदर्शन गरिएको थियो । चलचित्र प्रदर्शनका लागि नेपालबाट चलचित्रकि निर्माता ओमकुमारी चेम्जोङ र कलाकार मेनुका प्रधान यतिबेला मकाउ पुगेका छन् । चेम्जोङ र प्रधानलाई नेपाल चेम्बर अफ कमर्स इनले सम्मानसमेत गरेको थियो ।
चलचित्र हेर्न गुरुङ तमु समाजका पूर्वाध्यक्ष लिलबहादुर गुरुङ, मगर संघ मकाउका अध्यक्ष हिरा थापा, शेर्पा समाजका अध्यक्ष ङवाङ गेल्जे शेर्पा, एनारएनएका पूर्वाध्यक्ष पुर्ण गुरुङ, वर्तमान अध्यक्ष रुस्तम श्रेष्ठ, सागर रेस्टुरेन्टका संचालक सागर अधिकारी, आदिवासी जनजाति महासंघ मकाउका भिमकुमार राई, तामाङ संघ मकाउका अध्यक्ष कलबहादुर तामाङंल, किरात याक्थुङ चुम्लुङ, मकाउका अध्यक्ष चण्डी योङया लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सहयोगीको रुपमा उर्गेन लेप्चा, जनक, मिङ्मार तामाङ, सुरज अधिकारी, शान्ती ठकुरी रहेका थिए भने स्वयंसेवकको रुपमा प्रदिप उप्रेती, नवराज पराजुली, योब बहादुर क्षेत्री, संगीता अधिकारी, सुशिला राई, भरत भट्टराई, कबिर श्रेष्ठ र शुक्र गुरुङ रहेका थिए । यस्तै, मिडियातर्फ डोन मगर र बिरेन वाइबा रहेका थिए ।
भदौ ८ गते देशभर प्रदर्शन भएको ‘महानगर’को सन् २०२१ मा कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको थियो भने अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भएको थियो । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभल तथा भारतको जागरण फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो ।
यस चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो । साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा चलचित्रले ‘मोस्ट इलिसपिरेश्नल थीम’ अवार्ड तथा कार्मले अभिनयका लागि स्पेशल जुरी मेन्सन अवार्ड प्राप्त गरेका थिए ।
माउन्टेन रिभर फिल्मस् तथा गो विन प्रोडक्सन्ससँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको यस चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परिलिषत झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ ।
चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली र क्रियटिभ निर्माता नवनिधि दाहाल रहेका छन् । कर्मा शाक्य र मेनुका प्रधानको मुख्य अभिनय रहेको यस सिनेमामा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीलक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकार पनि अभिनय रहेको छ ।