काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तको माग गरिएको छ । एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीले आन्दोलन सुरू गरेका हुन्।
कर्मचारीहरूले कार्यकारी प्रमुख अधिकारीलाई प्रवेश निषेध गरेका हुन् । निगमको आन्दोलनरत कर्मचारीले कार्यालयको गेटमै तीन करोड नेपाली जनताको साझा सम्पत्ति राष्ट्रिय ध्वजावाहकलाई डुबाउन खोज्ने कार्यकारी प्रमुखलाई निगममा प्रवेश निषेध गरेको भनी ब्यानर टाँगेका छन् ।
उनीमाथि निगमको प्रमुख स्रोतको रूपमा रहेको त्रिभुवन विमानस्थलको ग्राउन्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने लयाउतका आरोप छन् ।
केही दिन पहिले मात्रै नेपाल उड्डयन प्राधिकरणले निगमले एकाधिकार पाएको ग्राउन्ड ह्यान्डलसङको जिम्मा खुल्ला प्रतिस्पर्धाबाट दिने निर्णय गरेको थियो ।
कर्मचारीहरूले यससँगै वर्षौँदेखि सञ्चालनमा नरहेको र व्यवस्थित गर्न नसकेको ट्वीनअटर जहाज साथै पाँच थान चिनियाँ जहाज र त्यसका करोडौँ मूल्यका पार्टपुर्जाहरू बेवारिसे अवस्थामा छाडिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।