काठमाडौं । लेखक मोहन मैनालीको पछिल्लो खोजमूलक ऐतिहासिक दस्तावेजको किताब ‘मुकाम रणमैदान : नेपाल अंग्रेज युद्धको बखान’ प्रकाशित भएको छ । किताबको प्रिन्ट् संस्करणसँगै ईबुक र अडियो बुक पनि एकैसाथ सार्वजनिक भएको हो।
१८७१-७२ सालको नेपाल-अंग्रेज युद्धमा नेपाली र अंग्रेज सिपाही र कमान्डरहरूले लेखेका चिठीका इतिवृत्तान्तहरूलाई मैनालीले किताबको विषयवस्तु बनाएका छन् ।
किताबबारे मैनाली भन्छन्, ‘यो किताबका निम्ति नेपाल-अंग्रेज लडाइँ लडी जान्ने, भोगी जान्ने, देखी जान्ने मानिसका बयानमा म भर परेको छु। कतै सार्वजनिक नभएका, राष्ट्रिय अभिलेखालयका माइक्रोफिल्ममा अनि राता कपडाका पोकामा अनेक कागजपत्रका बीचमा कतै-कतै भेटिने, कतै-कतै पढ्न नमिल्ने गरी धुलिएका, नबुझिने भएका अनि अहिलेको भन्दा अलि फरक अक्षर, फरक भाषा र फरक शब्दमा लेखिएका ती चिठीका शब्द-शब्दका अर्थ बुझेर मैले त्यो लडाइँबारे अहिलेसम्म बाहिर नआएका कुरा किताबमा समेटेको छु ।’
यो किताब लेख्न उनले थाहा नभएका जानकारी खोज्ने पत्रकारको सीप, असाध्यै धेरै मानिसले तयार गरेका असंख्य कागजपत्रको थुप्रोबाट आफूलाई चाहिएका जानकारी खोज्ने खोज पत्रकारको धैर्य र कठोर मिहिनेत अनि संकलन गरेका तथ्य सिर्जनशील ढंगले प्रस्तुत गर्ने फिचर लेखकको कला उपयोग गरेका छन् ।
खोजपत्रकारिता मार्फत आफ्नो पहिचान बनाएका मैनालीको पुस्तकबारे प्रकाशक भन्छ, ‘धेरै पढिएको र कथा जस्तै लाग्ने विषयमा नपढिएको र नसुनिएको तथ्यात्मक जानकारी पुस्तकको रूपमा प्राप्त गर्नु पाठकका निम्ति यो अहोभाग्स हो ।’
बुकहिलले प्रकाशन गरेको पुस्तकको हार्ड कभर मूल्य रुपैयाँ ९९९ र पेपरब्याकको मूल्य रुपैयाँ ७०० रहेको छ । ईबुक र अडियो बुकको मूल्य क्रमशः ३०० र ४०० रुपैयाँ रहेको छ । किताबलाई www.bookhill.com.np तथा www.bookhill.co.uk बाट प्राप्त गर्न सकिने बुकहिलले जानकारी दिएको छ ।