April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गाईको पुजा गर्दै मनाइयो ८३औं गोपाष्टमी पर्व

1.5K

काठमाडौँ । काठमाडौंस्थित गौशालामा ८३औं गोपाष्टमी पर्व सम्पन्न भएको छ। सोमबार मारबाडी सेवा समितिद्वारा सञ्चालित श्री पशुपति गौशाला धर्मशालाको ८३ औं स्थापना दिवसका अवसरमा उक्त पर्व सम्पन्न भएको हो।

पशुपतिको गौशालामा गाईको पुजा गरेर कार्यक्रमको सुभारम्भ गरीएको थियो । सर्वसाधारणहरूको भीड लागेको थियो । कोही गाईको पूजा गर्दै गरेका कोही गाईलाई केही खुवाउँदै गरेका थिए ।

धर्मशालाका अध्यक्ष चतुर्भुज सरियाको अध्यक्षता तथा नेपाल राष्ट्रिय मारवाडी परिषद्का पूर्व अध्यक्ष तथा समाजसेवी चिरंजीलाल अग्रवालको प्रमुख आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

Advertisement

कार्यक्रममा धर्मशालाका महासचिव महावीर घिराईयाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा मन्तव्य तथा शुभकामना सन्देश वाचन गर्ने वक्ताहरुले गाईको पूजा गर्नुको अर्थ, महत्व, गरिमा आदीका बारेमा आफ्ना भनाईहरु राखेका थिए।

कार्यक्रममा मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयल, नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, पशुपति गौशाला धर्मशालाका निवर्तमान अध्यक्ष विजयकुमार चौधरी, मारवाडी सेवा ग्राम गोधाम धार्केका संयोजक भवानीशंकर मिण्डा, पण्डित मानवेन्द्र शर्मा, गौशाला प्रहरी वृत्तका नायब उपरिक्षक केशवकुमार थेवेलगाययतका समाजका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

गौशालामा हाल ८० वटा दुहुना गाइ रहेका छन् । दुध नदिने गाईको संख्या ६७ रहेको छ भने सानो बाछा २० वटा, बाच्छा २८ वटा, कोरेली बाच्छी ३२ वटा, बहर १३ वटा र ४ वटा साँढेसहित २४४ वटा रहेका छन्।

कात्तिक शुक्ल अष्टमी गाईमा कृष्ण भगवानको वास हुने भएकोले ९ हजार वर्षदेखि यसै गरी पूजाआजा चल्दै आएको बताईन्छ ।

के हो गोपाष्टमी ?
कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमीका नामले पनि चिनिन्छ । गौमाताको सुरक्षासँग सम्बन्ध राख्ने भएकाले यो तिथिलाई गोपाष्टमी भनिएको हो । गौमाता वा गाईको माया र ख्याल, रक्षा र सुरक्षासँग जोडिएकाले ग्वाला, गोपाल अनि गोविन्दजस्ता नामहरू बनेको विश्वास गरिन्छ । भगवान् श्रीकृष्णको अति प्रिय नाममध्ये एउटा हो, गोविन्द ।
यही नामहरूको परिप्रेक्ष्यसँग गोपाष्टमीको सन्दर्भ जोडिएको बताइन्छ । धार्मिक विश्वासअनुसार कार्तिक शुक्ल सप्तमी तिथिमा गौमाता, ग्वाला र गोपिनीहरुको रक्षार्थ भगवान् श्रीकृष्णले गोवर्धन पर्वतको धारणा गर्नुभएको र एउटा औँलाले गोवर्धन पर्वत उठाएर सबैलाई श्रीकृष्णले उक्त पर्वतमुनि शरण दिएका थिए ।

त्यसको भोलिपल्ट अर्थात् उक्त अष्टमीको दिनमा स्वर्गबाट इन्द्र भगवान् स्वयं श्रीकृष्णलाई भेट्न झर्नुभएको विश्वास गरिन्छ । त्यति बेला भगवान् इन्द्रले कामधेनुले श्रीकृष्णको अभिषेक गरेको प्रसङ्ग धार्मिक ग्रन्थहरूमा छ । श्रीकृष्णले गाईहरूको रक्षाका लागि पर्वत नै उठाएकाले पनि उक्त दिनबाट श्रीकृष्ण भगवानको नाम गोविन्द रहन गएको विश्वास पनि गरिन्छ ।

द्वापर युगको त्यस दिनबाट नै गोपाष्टमी मनाउन थालिएको हो । आज पनि भगवान् श्रीकृष्णका अनुयायीहरूले यसलाई विशेष पर्वका रुपमा मनाइरहेका छन् । आजको दिन गौमाताहरुको अभिनन्दन गर्ने र गौमाताको सेवा गर्ने चलन रहेको छ । आजको दिन गौशाला र गौमाताहरुलाई दिएको दानले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास गरिन्छ ।