काठमाडौं । ‘विमल गुरुङ कृति पुरस्कार–२०७९’ कवि चन्द्र गुरुङको कृति ‘जब एउटा मान्छे हराउँछ’ र विजय बान्तवा कैलाशीको गद्य कृति ‘मित्याङ्सा’लाई प्रदान गरिने भएको छ । गोर्खाका कवि गुरुङको कविता कृति र मिरिक दार्जिलिङका विजयको गद्य कृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार–२०७९’ संयुक्त रुपमा दिने निर्णय भएको छनोट समिति सदस्य कवि राज माङ्लाकले जानकारी दिए ।
माङलाकका अनुसार उक्त पुरस्कार कात्तिक १९ गते आयोजना हुने ३२ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५२ औं जन्मजयन्तीको अवसरमा प्रदान गरिने छ । उनीहरूलाई नगद राशी जनही एक लाख रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
विमल कृति पुरस्कारका लागि आह्वान गरेअनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक/ साहित्यकार/ सर्जकहरुबाट १०१ कृति प्राप्त भएकामध्ये पहिलो चरणमा श्रेष्ठ २१ ओटा कृति छनोट गरिएको थियो । उत्कृष्ट मध्येबाट दुई कृति पुरस्कारका निम्ति चयन गरिएको हो ।