October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

थाम्सुहाङको निबन्ध सङ्ग्रह शब्दथुम विमोचित

1.5K

काठमाडौं । प्रकाश थाम्सुहाङको नयाँ पुस्तक शब्दथुम विमोचन भएको छ । वरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति वैरागी काइँलाले आज एक समारोहबीच विमोचन गरेका हुन् ।

विमोचन गर्दै प्रमुख अतिथि काइँलाले सत्रथुमको कथा सुनिरहेको मान्छेलाई शब्दथुम पुस्तक थमाउँदा सत्रथुमकै परिवेशमा पुगेको अनुभव सुनाएका थिए । “अरुणपूर्व र मेची पश्चिमको क्षेत्रभित्र १७ थुम रहेको, थुम प्रशासनिक एकाई रहेको र त्यही क्षेत्रको साहित्यिक थुमको रुपमा यस पुस्तक आएको छ, ” काइँलाको भनाई थियो ।

निबन्धकार रोशन शेरचन, राजकुमार बानियाँ, कुमारी लामा र बच्चु हिमांशुले प्रकाश थाम्सुहाङले आफ्ना निबन्धमार्फत् उठाएको सामाजिक न्याय, पहिचान, अस्तित्व र बृहत् सामाजिक एकताको आह्वान शक्तिशाली र सान्दर्भिक भएको चर्चा गरे ।

Advertisement

पुस्तकमाथि बोल्दै राजकुमार बानियाँले निबन्ध लेख्न हम्मेसी लेखकहरु तयार नहुने परिस्थितिबीच प्रकाशले आफूलाई जोखिमको यात्रामा लगेको चर्चा गरे । शब्दथुमका निबन्धहरुमा अन्यत्र नपाइने किसिमको स्वाद पाएको पनि बानियाँले वर्णन गरे । लामाले प्रकाशको निबन्धमार्फत् आफू लिम्बू संस्कृतिका थुप्रै प्रसंगहरुसँग साक्षात्कार हुन पाएको भन्दै धन्यवाद दिएकी थिइन् ।

प्रकाश थाम्सुहाङले आफ्नो कृति ढिलाइ भएर छापिनुमा कतिपय आफ्नै कारण, कतिपय चाहिं शब्दको माध्यम र संरचनाको कारण देखाए । उनको १७ वर्ष अगाडि ‘पालामको मुच्र्छना’ कविता सङ्ग्रह प्रकाशन गरेका थिए ।

पुस्तकलाई इन्डिगो इंकले प्रकाशन गरेको हो । प्रकाशले यसअघि ‘पालामको मुर्च्छना’ कवितासंग्रह बजारमा आएको थियो ।