काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय, भाषिक र धार्मिक एकताको सट्टा द्वन्द्व फैल्याउने खतराहरू देखिइरहेको बताए । नेपालको विविधताको एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण भइरहेको भन्दै उनले सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने खतराहरू देखिरहेको बताएका हुन् ।
शनिवार काठमाडौंका आयोजित ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै श्रेष्ठले, ‘यो बहुजातीय बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । यसको विशेषता भनेको विविधता बीचको एकता हो । यसको आफ्नै मौलिक पहिचान छ । धार्मिक र सांस्कृतिक जातीय सद्भाव र सहिष्णुता यसको मौलिक विशेषता हो । यो समाज सही सहिष्णुता सहित यो अघि बढिरहेको छ । यसको मौलिक विशेषता हो । हामीले एकातिर जातीय, मौलिक भाषिक, धार्मिक, लैङ्गिक उत्पीडनलाई अन्त्य गरेर पहिचान, अधिकार र विकासको पक्षमा संघर्ष र्गयौँ । त्यसको सन्दर्भमा धेरै उपलब्धि पनि हासिल गरेका छौँ । अझै हामीले त्यसलाई बेलामा सुनिश्चित गर्नु त छँदैछ । तर आज नेपालको यो विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा कहीँ कतैबाट धावा बोल्ने षड्यन्त्र त भइरहेको छैन ? हामी सबै सचेत हुनुपर्ने आवश्यकता छ । आज जातीय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, विग्रह फैल्याउने खतराहरू पनि देखिरहेको छ । हामी सबै आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्छ । प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्छ । त्यसको निम्ति संगठित हुनुपर्छ । त्यस्तै अरूको अधिकार, पहिचान र विकासको निम्ति पनि सहयोगी हुनुपर्छ । हाम्रो विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न पाओस् । परास्त गर्न सफल हुनुपर्छ ।’
गृहमन्त्री श्रेष्ठले सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको पनि बताए । उनले भने, ‘नेपाली जनताको दैनिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुछ । आज ३० लाख भन्दा बढी सङ्ख्यामा रहेका खाडी मुलुकमा मलेसियामा रहेका श्रमिक नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आमाबुबाको काखमा, बालबच्चाको साथमा आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु छ । त्यसैले आजको हाम्रो मूल कार्यभार समृद्धिको कार्यभार हो । समृद्धिको कार्यभार पूरा गर्न सरकारले कमिसन खोर र भ्रष्टाचारको जुन जालोले देशलाई जर्जर बनाएको छ, सुशासन स्थापित नगरी समृद्धिलाई तीव्रता प्रदान गर्न सकिँदैन ।’