June 22, 2024, Saturday
२०८१ असार ९
1:37:26 pm

‘बौद्ध–जोरपाटी एकता समाज’मा बस्नेत

1.1K

काठमाडौँ । भोजपुर जिल्लाका विभिन्न स्थानबाट राजधानी आई बौद्ध–जोरपाटी क्षेत्रमा बसोबास गरिरहेका भोजपुरेहरूको साझा सामाजिक संस्था ‘भोजपुर मातृभूमि बौद्ध–जोरपाटी एकता समाज, काठमाडौँ’को अध्यक्षमा समाजसेवी गोविन्द बस्नेत चयन भएका छन् । बस्नेत शनिबार सम्पन्न संस्थाको साधारणसभाबाट सर्वसम्मतरूपमा अध्यक्ष चयन भएका हुन् । बस्नेत उक्त संस्थाको परिकल्पनाकार तथा संस्थापक अध्यक्ष हुन् । संस्थाको दोस्रो कार्यकालमा मनकुमार शेर्पा अध्यक्ष रहेका थिए । शेर्पा संस्थापक सचिव हुन् ।

समाजको साधारणसभाबाट उपाध्यक्षमा बलराम केसी, सचिवमा लीलाबहादुर तामाङ, सहसचिवमा लक्ष्मी श्रेष्ठ र कोषाध्यक्षमा सरस्वती प्रधान चयन गरेको छ । यसैगरी सदस्यहरूमा नारायणकुमार श्रेष्ठ र दीपा श्रेष्ठ चयन भएका छन् । सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन गरिएको हो । संस्थाको कानुनी सल्लाहकारमा डम्बरबहादुर कार्की, सल्लाहकारमा लेखराज श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ, मनकुमार शेर्पा र दीपेन्द्रकुमार श्रेष्ठलाई मनोनयन गरिएको छ ।

समाजले स्थापनाको सुरुमै भोजपुरमा जन्मेर समाजमा विशिष्ट योगदान दिएका पाँच जना भोजपुरे व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै एकता वनभोज, भित्तेपात्रो प्रकाशनलगायतका विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । गत वर्ष समाजले प्राज्ञ शशी लुमुम्बू र गोविन्द बस्नेतको सम्पादकत्वमा भोजपुरसम्बन्धी बृहत् ग्रन्थ ‘भोजपुर दर्पण’ प्रकाशन गरेर सर्वत्र प्रशंसा कमाएको थियो । उक्त कार्य पनि गोविन्द बस्नेतकै परिकल्पना, अगुवाइ र समर्पणका कारण संभव भएको लेखक तथा अनुसन्धाता गणेश बज्राचार्य बताउँछन् ।

Advertisement