काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । काँग्रेसका विभिन्न भातृसंगठन तथा शुभेच्छुकहरुले विभिनन कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाउन लागेको हो ।
जन्मजयन्तीका अवसरमा रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलन लगायतका कार्यक्रम गरिने भएको छ ।
पूर्वसभापति कोइरालाको जन्म विसं १९८१ असार १८ गते भएको थियो । सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो ।
उनले मुलुकमा पाँचपटक प्रधानमन्त्री र लामो समय काँग्रेसको पार्टी सभापति भएर काम गरेका थिए ।