March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

नेपालमा विद्युत कटौती गरेर भारत पठाएको भन्ने टिप्पणी सत्य हैन: कुलमान घिसिङ

1.4K

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत कटौती गरेर भारत पठाएको भन्ने सामाजिक सञ्जालमा आएका टिप्पणी सत्य नभएको बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै घिसिङले देशभित्र लोडसेडिङ गराएर भारतमा बिजुली नबेचेको स्पष्टीकरण दिएका हुन् ।

घिसिङले भने, ‘उत्पादन भएर यहाँ खपत नभएको बिजुली मात्र हामीले बेच्ने हो । हामी पिक समयमा पनि ४०० देखि ५०० मेगावाट बिजुली बिक्री गर्न सक्छौं।’

उनले प्राधिकरणले प्रयोग गरिरहेको सिस्टममा समस्या आएको कारण केही समय अघि नेपालले गडबडी झेल्नुपरेको उनले बताए। उनले भने, ‘समस्या आएको बेला पावर प्लान्ट आफैं अफ हुन्छ। यहाँ गडबड गरेर निर्यात गर्न पनि मिल्दैन।’

Advertisement

अहिले नेपालको विद्युत खपत २००० मेगावाट पुगेको छ। कुल उत्पादन क्षमता २७०० मेगावाट छ। सधै क्षमताअनुसार सबै बिजुली उत्पादन भने नहुने उनी बताउँछन्। ‘कुनै दिन कुनै आयोजनाको विद्युत उत्पादनमा अवरोध आउन सक्छ। त्यसो हुँदा पनि २५०० देखि २६०० मेगावाट उत्पादन हुन्छ। २००० मेगावाट खपत हुँदा पनि ५०० मेगावाट बढी हुन्छ,’ उनले भने।

पिक समयमाभन्दा अन्य समयमा उत्पादिन विद्युत बिक्री नगरेमा घाटा हुने समेत उनले बताए। प्राधिकरणले विद्युत उत्पादकहरूसँग ‘टेक अर पे’मा विद्युत खरिद सम्झौता गरेको हुन्छ। यसरी विद्युत नकिनेमा तिनलाई क्षतिपूर्ति दिनुपर्छ भने यसरी किनेको विद्युत खेर गएमा घाटा हुने भएकोले निर्यात गरिएको उनले बताए । उनले भने, ‘यहाँ बत्ती जानु प्रणालीमा समस्या आएको कारण हो। यहाँको प्रणाली बिग्रिदा बाहिर पनि निर्यात गर्न मिल्दैन। अहिले निर्यात गर्ने बिन्दु ढल्केबर मात्रै हो। कालिगण्डकीको विद्युत निर्यात गर्दा पनि ढल्केबर नै पुग्नुपर्छ। तर, तामाकोशीकै विद्युत पहिले पुग्छ। प्रणाली गयो भने हामीले चाहेर पनि ढल्केबर पुर्‍याउन सक्दैनौं।’

यस्तै, विशेषगरी, तराईमा बढेको गर्मी त्यही क्षेत्रमा फलाम उद्योग रहेकाले विद्युतको माग बढेको भएपनि अस्थिर रहेको उनले बताए। ‘अहिले तराईमा एसी, फ्यान प्रयोग बढेको छ। आइरन उद्योगहरूमा भोल्टेज घटबढ हुने गरेको छ,’ घिसिङले भने,‘ कोहलपुर, बुटवल, विरगंज जहाँ आइरन उद्योग छ त्यहाँ कहिले एक दुई मिनेटमै २० देखि ३० मेगावाट थप हुने र कहिले कम हुने भइरहेको छ।’ 

भोल्टेज घटबढ हुँदा कालीगण्डकी लगायतका धेरै पावरप्लान्ट ट्रिप (प्रणालीमा नपुग्ने वा कटौती) हुने गरेको उनले बताए। प्रसारण लाइनमा कमिले पनि यस्तो समस्या आएको उनले बताए।