काठमाडौं । अहिले देशभरको हलहरुमा प्रदर्शनमा रहेको चलचित्र ‘जारी’ पाइरेसी भइरहेको भन्दै चलचित्रका निर्माताले उजुरी दिएका छन् । चलचित्रलाई हलबाट खिचेर सामाजिक संजालमा लगाउने फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध चलचित्रको निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
पाइरेसीमा संलग्लको पहिचान गरी क्षतिपूर्ति दिलाउन पनि निर्माताले माग गरेका छन् । चलचित्रका दृश्य हलमा खिचेर सामाजिक संजालमा लगाउँदा निर्मातालाई आर्थिक नोक्सान भएको हुँदा पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन माग गरिएको हो ।
शुक्रबारदेखि देशव्यापी प्रदर्शन भइरहेको चलचित्र ‘जारी’ फिल्मका दृश्यहरु अहिले सामाजिक संजालमा छ्याप्छ्याप्ती हालिएको छ ।
दयाहाङ राई र मिरुना मगर स्टारर जारीले आक्रामक कमाइ गरिरहेको छ । चलचित्रले २ दिनमा ४ करोड १५ लाख ग्रस कमाइसकेको जनाइएको छ ।