काठमाडौं । स्रष्टा जनक रावलको कथा संग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा भएको एक विशेष समारोहमा रावलको कथासंग्रह लोकार्पण गरिएको हो ।
सामारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठ, विशिष्ठ कालाकार लय संग्रौला, उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ, लेखक राजनीतिक विश्लेषक केशवप्रसाद चौलागाईं, स्रष्टा जनक रावल र उनकी धर्मपत्नी कल्पना रावल, कृतिका सम्पादक कृष्ण भुसाल, गीतकार तथा निर्देशक गणेश सुवेदी, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीलगायतयले कृतिको लोकार्पण गरेका थिए ।
स्रष्टा रावलको २५औं वैवाहिक वर्षगाँठको अवसर पारेर गरिएको कार्यक्रममा रावल दम्पतीले एक–अर्कालाई दुवोको माला लगाइदिएका थिए भने वर्षगाँठको केक पनि काटिएको थियो ।
मिलाप पब्लिकेशनको आयोजनामा भएको कार्यक्रममा कृतिको समीक्षा सन्तोष श्रेष्ठले गरेका थिए । उनले संग्रहमा संग्रहित कथा वास्तविक जीवनसँग मेला खाने खालको भएको भन्दै यर्थाथको नजिक रहेको जिकिर गरे । श्रेष्ठले संग्रहमा रहेका सबै कथाको समीक्षा गर्दै रावलको लेखनकला अब्बल रहेको बताए । उनले कृतिको सम्पादन र आवरण पृष्ठको पनि प्रशंसा गरेका थिए ।
यस्तै, गीतकार संघका अध्यक्ष थापाले स्रष्टा रावल एउटा सशक्त गीतकारको रूपमा आफूले पाएको र अब उनको परिचय कथाकारका रुपमा आएको बताए । उनले रावललाई संघमा जोडिएर काम गर्न पनि आग्रहसमेत गरे । त्यस्तै, लेखक एवं राजनीतिक विश्लेषक चौलागाईंले राजधानीमा धेरै पुस्तक लोकार्पण कार्यक्रम हुने गरेका भए पनि यो कार्यक्रम विशेष खालको रहेको भन्दै स्रष्टा रावललाई बधाई तथा शुभकामना दिए ।
उनले आफू पनि द्वन्द्वका विषयमा कलम चलाउने भएकाले स्रष्टा रावलका कथा द्वन्द्वसँग जोडिएर आएकोमा आफूलाई यसका कथाले प्रभाव पारेको जिकिर गरे । त्यसैगरी सिक्किमका स्रष्टा प्रधानले नेपाली भाषा, साहित्य, कला संस्कृतिका लागि जहाँ भएका नेपाली भए पनि आ–आफ्नो ठाउँबाट सक्दो योगदान पु¥याउनुपर्ने बताए । उनले यो कथासंग्रह अब रावलको नभएर पाठकको भएको बताए ।
श्रेष्ठले रावलका कथा सशक्त रहेको बताउँदै बधाई तथा शुभकामना दिएका थिए । निर्देशक एवं कलाकार संग्रौलाले स्रष्टा रावलले नेपाली साहित्यिक फाटमा पहिलो कृति नै सशक्त रूपमा लिएर आएको जिकिर गरे । उनले रावलको कथासंग्रहमा भएका कथाले यो देशको परिवेश, घटनाक्रम र यर्थाथताको पृष्ठपोषक भएको बताए ।
प्रमुख अतिथिको आशनबाट वरिष्ठ पत्रकार एवं साहित्यकार दाहालले स्रष्टा रावलको कथा संग्रहमा द्वन्द्वसँग सम्बन्धित कथाले आफूलाई छोएको बताउँदै हिंसा कुनै पनि विषयमा जायज नभएको धारणा राखे । आफू सधैं शान्तिका पक्षमा उभिँदै आएको बताउँदै उनले हिंसाले कहिल्यै कसैको हित नगर्ने टिप्पणी गरे ।
कलाकार, साहित्यकारलाई गहना भनिएकोमा अब यसलाई हामी सबैले सुधार्नुपर्ने उनको सुझाब थियो । उनले स्रष्टा गहना नभएर स्पन्दन भएको बताए । कुनै पनि देशको पहिचान भनेको त्यस देशको भाषा, साहित्य, कला, संस्कृतिको हो । यो, त्यो देशको स्पन्दन हो । अनि यो क्षेत्रमा लागि पर्ने व्यक्ति कसरी गहना हुन सक्छन् भन्ने प्रश्न गर्दै प्रमुख अतिथि दाहालले स्पन्दन भएको धारणा राखे । उनले नेपाली भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्बद्र्धनमा नेपाल बाहिरका नेपालीको पनि ठूलो योगदान रही अएको चर्चा गरे ।
स्रष्टा रावलले आफ्नो २५औं वर्षगाठमा कृति सार्वजनिक गर्ने अवसर जुरेकोमा खुशी व्यक्त गर्दै कविता सुनाएका थिए । आफ्ना अन्य चार कृतिका पाण्डुलिपि पनि तयार रहेको बताउँदै उनले क्रमशः प्रकाशन गर्दै जाने जानकारी गराए ।
कृतिका सम्पादक भुसालले संग्रहमा रहेका कथा यर्थाथका नजिक रहेको र यसमा रहेको भाषा आञ्चलिक परिवेशका रहेको बताए । गीतकार तथा निर्देशक गणेश सुवेदीले सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि दाहाललाई पब्लिकेशनको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
२२५ पृष्ठको यो कथा संग्रहलाई कल्पना रावले प्रकाशन गरेका हुन् । वरिष्ठ साहित्यकार खेमनाथ दाहालको भूमिका रहेको कृतिमा कृष्ण भुसालको सम्पादन र रमेश दाहालको भाषा सम्पादन एवं आवरण रहेको छ । कृतिमा १९ कथा संग्रहित छन् । समारोहमा गीत, संगीत, साहित्य, कला क्षेत्रका व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।
श्रेष्ठलाई मिलाप सम्मान
सो अवसरमा सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठलाई मिलाप विशिष्ट सम्मान प्रदान गरिएको थियो । उनलोई सिक्किममा रहेर नेपाली भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्बद्र्धनमा लामो समयदेखि समर्पित रहँदै उनले पु¥याएको योगदानको कदर गर्दै मिलाप सम्मान अर्पण गरिएको थियो । उनलोई खादा, माला, दोसल्ला र तामप्रत्रले सम्मान गरिएको थियो । पेशाले सिभिल इञ्जिनियर भए पनि साहित्यप्रतिको श्रेष्ठको लगाव विशेष रहेको छ । उहाँका हालसम्म ‘पुष्प वाटिका’ कविता संग्रह, ‘मेरा केही स्मृतिहरू’ संस्मरण प्रथम र दोस्रो संस्करण, ‘मेरा केही यात्रा संस्मरणहरू’, निबन्ध संग्रह, ‘मह’ कविता संग्रह, ‘मोह’ कविता संग्रह, ‘आत्मासाक्षात्कार’ निबन्ध संग्रह, ‘माया’ कविता संग्रह, ‘मेरा केही अभिव्यक्तिहरू’ निबन्ध संग्रह, ‘मन’ कविता संग्रह र ‘जमरा’ लगायत ११ कृति पाठकमाझ आएका छन् भने आधादर्जन जति विभिन्न विधाका कृति प्रकाशोन्मुख छन् ।
उनले विभिन्न पत्रिका र स्मारिकाको सम्पादन पनि गरेका छन् भने नयाँ प्रतिभालाई यस क्षेत्रमा आउनका लागि प्रोत्साहन गर्दै उहाँहरूका कृति प्रकाशन पनि गरिदिने गरेका छन् । विभिन्न धार्मिक तथा साहित्यिक कार्यक्रमका लागि यतिबेला काठमाडौं आएको अवसर पारेर उनलोई मिलापले सम्मान गरेको मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले बताए ।