लन्डन । मगर संघ यूकेले आफ्नो ४१ औं स्थापना दिवस तथा २० औं बर्षगाँठ मनाएको छ । केहिदिन अघि बेलायतको मेड्स्टोन शहरस्थित मेड्स्टोन प्रदर्शनी हलमा ए भव्य कार्यक्रमको आयोजना गरी स्थापना दिवसका साथै मगर संघ युके स्थापना भएको उपलक्षमा वर्षगाँठ भव्य रुपमा मनाएको छ ।
कार्यक्रममा नेपाल मगर संघका संस्थापक अध्यक्ष स्वर्गीय हेम बहादुर पुनको तस्वीरमा मगर संघ युकेका अध्यक्ष सिता पुन र प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदुत ज्ञान चन्द्र आचार्यले माल्यार्पण गर्दै दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलन पश्चात अध्यक्ष पुन र राजदुत आचार्यद्धारा रिबन काटेर दिवसको उद्धघाटन गरिएको थियो ।
कार्यक्रममा अन्तराष्ट्रिय मगर संघका महासचिव वीरमान घर्तिमगरले सफल कार्यकालका लागि अध्यक्ष सीता पुन मगर र नेपाली गीतसंगीतमा विगत ३० बर्ष निरन्तर सक्रिय रही मगर संघ यूकेकी सांस्कृतिक सचिवसमेत रहेकी सरु राना गुरुङलाई सम्मान गरेका थिए ।
मगर दिवसमा मगर संघ युकेका शाखा संगठनहरु लन्डन, मिडल्याण्ड, वेल्स, स्वीन्डन, रेडिङ, वेम्ब्ली, युनाइटेड युएचएसबी, प्लम्स्टेड, केन्ट, वेस्ट लन्डनलगायत आवद्ध संस्थाहरु पुन मगर समाज युके, खामभाषी मगर समाज युके, मगर महिला संघ युके, मगर बुद्धिष्ट सोसाइटी युकेले आ–आफ्नो शाखा तथा संस्थाका अध्यक्ष तथा प्रतिनिधिले आ–आफ्नो शाखा तथा संस्थाको परिचय दिदै झाँकी, गीत र नृत्य प्रस्तुत गरेका थिए ।
मगर दिवसको अवसरमा संघका उपाध्यक्ष बम थापा शुर्यवंशीद्धारा सम्पादित तथा मगर संघ युकेद्वारा प्रकाशित २० औं बर्षगाँठको पुस्तक पनि अनावरण गरिएको थियो । पुस्तकको प्रमुख संयोजक तथा संस्थाका महिला उपाध्यक्ष निर्मला थापालगायत सम्पादक मण्डललाई सम्मान गरिएको थियो । यस्तै, कार्यक्रममा अध्यक्ष सीता पुनले मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना, पूर्वाध्यक्षहरू मेजर कुल थापा, दुत पुन र नेम थापालाई धरो तथा साफा गुथाएर सम्मान गरिएको थियो भने शोभा राना र जमुना पुनलाई सल ओढाएर सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा आमन्त्रित अन्तराष्ट्रिय मगर संघका महासचिव वीरमान घर्तिमगर, युरोप संयोजक नेत्र मगर, विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक रानालगायत बेल्जियमबाट उपस्थित भएका सम्पूर्ण पाहुनाहरुलाई मगर संघ युकेको २० औं वर्षगाँठमा उपलक्षमा सम्मान गरिएको थियो । सो अवसरमा मगर संघ युकेका अध्यक्ष सीता पुन र विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक रानाले मायाको चिनो आदान प्रदान गरेका थिए ।
मगर दिवसमा लोकप्रिय कलाकारहरू कल्पना श्रीपाल, मनसुदन थापा, शेखर घर्तिलगायत अन्य स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन दिएका थिए ।
अध्यक्ष सीता पुनको अध्यक्षता रहेको मगर दिवसका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञान चन्द्र आचार्य रहेका थिए । मगर संघ युकेका बरिष्ठ उपाध्यक्ष लाल पुनले स्वागत मन्तव्य दिएका थिए भने संथाका महासचिव गुमानसिङ थापाले संचालन गरेका थिए ।