April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुनसरीको बराहक्षेत्रमा उल्लासकासाथ सुरु भयो “स्कुलमा कविता” कार्यक्रम

1.7K

साहित्यले डोहोर्‍याएको राजनीतिमात्र सफल हुन्छ: प्रमुख अतिथि रोहित काफ्ले

धरान । स्वर्णिम साहित्य समाज बराहक्षेत्र –३ ले आयोजना गरेको स्कुलमा कविता कार्यक्रम तामझामका साथ सुरुवात भएको छ । लगभग डेढ महिनासम्म चल्ने यो कार्यक्रमको औपचारिक सुरुवात शनिबार कालाबन्जरबाट सुरु भएको हो ।

कार्यक्रमका आकर्षण विशेष कवि भीम विरही राईले “सायद मेरो अन्तिम पत्र हुन सक्छ” कविता वाचन गरेसँगै सुरु भएको सो प्रतियोगितामा साविक भरौल गाविसबाट स्काई इङ्लिस स्कुल बराहक्षेत्र –३ नडाहाकि पुष्पा घिमिरे र मुनवीम एकेडेमी बराहक्षेत्र –५ कि इशा सुवेदी फाइनल राउण्डमा प्रवेश गरेका छन् भने तेस्रो जनता माध्यमिक विद्यालयका ओती केदेम लिम्बु बन्न सफल भइन् । अब उनीहरुले २०८० वैशाख २ गते हुने फाइनलमा अन्य छनोट हुने कविहरुसँग प्रतिष्पर्धा गर्नेछन् ।

बराहक्षेत्र – ५ को ज.डे.ज. माविमा सम्पन्न सो कार्यक्रममा ५ वटा विद्यालयले सहभागी जनाएका थिए । कार्यक्रममा समाजका सल्लाहकार दुर्गा बस्नेत, पूर्व वडाअध्यक्ष रुद्र दाहाल, राजनीतिकर्मी अमित गौतमले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र –५ का वडाअध्यक्ष रोहित काफ्लेले कार्यक्रमलाई सम्बोधन गर्दै देशमा ठूल्ठूला परिवर्तनमा साहित्यको अहम भूमिका रहेको बताए । उनले थपे, ‘जेबी टुहुरेको गीतले आम नेपाली जनतालाई परिवर्तनको निम्ति जागरुक बनाएको यथार्थ छँदैछ । गोपाल प्रसाद रिमालको आमा कविताले अहिले पनि हामीलाई उत्तिकै उर्जाशील बनाउँछ । साहित्यले मार्गदर्शन गरेको राजनीति मात्र सचेत, वौद्धिक र सफल भएको छ । यो अर्थमा “स्कुलमा कविता” कार्यक्रम असाध्यै समयसान्दर्भिक छ । यसलाई सफल पार्नु स्वर्णिम साहित्य समाजको मात्र नभइ तपाइँ हामी सबैको दायित्व हो ।’ कार्यक्रमका सबै वक्ताहरूले पोएट आइडलका बराहक्षेत्रकी प्रतिष्पर्धी छबिना लुङ्गेली मगरलाई पोएट आइडल बनाउन बारम्बार आह्वान गरे ।

Advertisement

सोही कार्यक्रममा स्वर्णिम साहित्य समाजले स्थापना गरेको “स्वर्णिम साहित्य पुरस्कार तथा सम्मान” अक्षयकोषमा “लकडाउनमा सर्जक र सिर्जना” पुस्तकका प्रकाशक समुहका कवि भीम विरही राईले रु. ५० हजार हस्तान्तरण गरेका थिए । यस्तै लक्ष्मी कङ्क्रिट उद्योगका प्रदिप चौधरीले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका थिए भने साँगुरीगढी गाउँपालिका वार्डनम्बर –९ का वडाअध्यक्ष जेबी परदेशीले पनि ५ हजार रुपैयाँ सो अक्षयकोषको निम्ति प्रदान गरेका थिए ।

अर्को अडिसन साविक बराहक्षेत्रको बराह राइजिङ स्टार बोर्डिङ स्कुलमा हुनेछ । प्रतियोगितात्मक कार्यक्रमका विजेताले रु १० हजार, ट्रफी, प्रमाणपत्रका साथमा अन्य पुरस्कारहरु प्राप्त गर्नेछ भने दोस्रो तेस्रो र सान्त्वनाले रु. ५ हजार, ३ हजार र ३ हजार प्राप्त गर्नेछ ।

समाजका सचिव लक्ष्मण कटुवालले सन्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य कवि दीपा मग्रातीले राखेका थिए भने कार्यक्रमका सभाध्यक्ष प्रकाश दिप्साली राई रहेका थिए ।

कार्यक्रमका तस्वीरहरु