February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

कवि सुष्मा दाहालको कवितासंग्रह ‘मध्यान्तर’ विमोचित

3K

काठमाडौं । कवि सुष्मा दाहालको कवितासंग्रह ‘मध्यान्तर’ विमोचित भएको छ । शनिबार काठमाडौंको अनामनगरस्थित निम्तो रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी संग्रहको विमोचन गरिएको हो । संग्रहलाई सर्जक सुष्मा दाहाल, साहित्यकार उषा शेरचन, अश्विीनी कोइराला, गीतकार शान्तिराम भट्टराई र अधिवक्ता कृष्ण घिमिरेले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

साहित्यपोष्ट डटकमको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार उषा शेरचनको प्रमुख आतिथ्यता रहेको थियो । संग्रहबारे बोल्दै प्रमुख अतिथि शेरचनले यस संग्रहमा जीवन र जगत लेखिएको बताइन् । ‘भन्नलाई त श्रष्टाको लिङ्ग हुँदैन भनिन्छ । हुँदैन पनि, तर महिला र पुरुषबीचको परिस्थिति फरक छ । हाम्रो समाज पितृसत्तात्मक समाज हो । सुष्माको कवितामा यहि समाजमा महिलाले भोगेको जीवन, सपनाका कुरा, समग्रमा महिलाहरुको कथाभित्रका कथाहरु छन् ।’, शेरचनले भनिन् । उनले कवितासंग्रहभित्रको एउटा कविता वाचन पनि गरेर सुनाएकी थिइन् ।

यस्तै, सर्जक दाहालले संग्रह पाठकमाझ ल्याएकोमा बधाई दिँदै अतिथि शान्तिराम भट्टराईले उनीसँग पारिवारिक सम्बन्ध रहेपनि त्योभन्दा माथिको सम्बन्ध कविको रहेको बताए । शुभकामना दिने क्रममा अधिवक्ता कृष्ण घिमिरेले कवितासंग्रह पढ्ने मौका अहिलेसम्म नभएतापनि उनको सिजर्नना यात्रालाई हेर्दा पुस्तक यसअघि नै आइसक्नुपर्ने बताए ।

Advertisement

सर्जक दाहालले आफू महिला भएकोमा हिनताबोध नभएको बताइन् । ‘म सँग योग्यता र क्षमता छ । चेताना छ । र, मैले म भएर बाँच्न पाउनुपर्छ । म पछि मात्रै मेराहरु हुन् ।’, उनले भनिन् । आफ्नो साहित्यिक लेखन यात्राको स्मरण गर्दै दाहालले लैंगिक समानताबारे लेख्दै आएको बताइन् । विभिन्न जिम्मेवारी बहन गर्दै जाने क्रममा संग्रह निकाल्न भने केहि ढिला हुन गएको बताइन् ।

साहित्यपोष्टका सम्पादक अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि रेजिना आपागाइँ, मन्जु मिश्र र रसुवाली कविले पनि कविता वाचन गरेका थिए ।