– प्रकाश दिप्साली राई
नडाहा । स्वर्गीय बुबाआमाको सम्झनामा जनसेवा माध्यमिक विद्यालय हतुवागढी–९ हसनपुरको मातहत रहने गरि छोरा एनसी राईले ‘पदम बहादुर/रेशम माया राई स्मृति अक्षयकोष’ खडा गरेका छन् । एनसी राईले आफ्ना स्वर्गीय बुबा पदम बहादुर राई र आमा रेशम माया राईको सम्झनमा १ लाख, १५ हजार, पाँच सय पचपन्न रुपैयाँको क्षयकोष खडा गरेका हुन् ।
हतुवागढी –९ हसनपुर थुम्कीमा जन्मिएका राई हालः धरान ११ शान्ति चोक स्थायी बसोबास गर्दै आएका छन् भने उनी सफल युवा व्यवासायीको रुपमा सबैसामु परिचित छन् । हसनपुर सुनसरी सम्पर्क मञ्च तथा भुपु विद्यार्थी मञ्चका सचिवसमेत रहेका एनसी राई जनसेवा माविकै पूर्व विद्यार्थी पनि हुन् । उनले जनसेवा माध्यमिक विद्यालय हसनपुरको ५४औं वार्षिकोत्सवको अवसर पारी सो अक्षयकोष खडा गरेका हुन् ।
उक्त अक्षयकोषमार्फत हरेक वर्ष विद्यालयमा अध्यापन गराउने शिक्षकहरुमध्ये असल र उत्कृष्ट एक शिक्षकलाई प्रोत्सानस्वरुप पुरस्कृत गरिने बताइएको छ । ‘आजसम्म हामीले विद्यार्थीको हितमा थुप्रै लगानी, यस्ता अक्षयकोष खडा गरेका देखेका छौँ । तर उनी विद्यार्थीहरुको निम्ति दिन रात लागिपर्ने शिक्षकहरुको खास सोचेकै छैनौं । अवकास लिने बेलामा फूलको माला र विदाइ–पत्र दिने परम्परा छ । तर, उनीहरुको कार्यकालमा उनीहरुले गरेको कार्यको मुल्यांकन र प्रोत्साहन पनि त गरिनु पर्यो नि ! जुन कार्यले गर्दा विद्यार्थीको पठनपाठन थप प्रभावकारी बन्न सक्छ । साथै यो पुरस्कारले शिक्षकहरुको उच्च मनोबल वृद्धि पार्नेमा हामी विश्वस्त छौँ । यो पुरस्कारको नाम ‘वेष्ट टिचर अफ दि इयर, पदम बहादुर/रेशम माया स्मृति पुरुकार रहनेछ ।’, अक्षयकोषका संस्थापक एनसी राईले भने ।
उक्त अक्षकोषको धनराशी यहि पुस १ गते विद्यालयको ५४औं वार्षिकोत्सवका दिन बैंक चेकमार्फत हस्तान्तरण गर्ने गरिने पनि राईले बताए । अरु बाकी प्रक्रियाहरु विद्यालय, व्यवस्थापन समिति, पूर्व विद्यार्थीहरुसँग छलफल गर्दै अघि बढ्ने जानकारी पनि राई परिवारले बताएका छन् । राईका श्रीमती एक छोरा र एक छोरी छन् ।