January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने

2.5K

काठमाडौं । ‘भूपि काव्य’ पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । कवि भुपि शेरचनको स्मृतिमा स्थापित थकाली सेवा समिति पोखराद्धारा प्रदान गरिने यसवर्षको भूपि काव्य पुरस्कार उषा शेरचनलाई प्रदान गरिने भएको हो ।

८९ औँ भूपि जयन्तीकोे अवसरमा पुष १० गते पोखरामा कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । भूपिका परिवारबाट उनको स्मृतिमा स्थापित थकाली सेवा समिति पोखराद्धारा नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशी ५० हजार रहेको छ ।

पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, थकाली सेवा समितिका अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन रहेका छन् । हरेक दुईदुई वर्षमा दिइँदै आएको यस पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्न शमशेर थापा, र तिर्थ श्रेष्ठ पुरस्कृत भइसेका छन् ।

Advertisement

उषा शेरचनको ‘नजन्मेका आस्थाहरु’ (कवितासंग्रह–२०४८), ‘अक्षरहरुका शिविरबाट’ (मुक्तकसंग्रह–२०५६), ‘सर्वकालीन पीडा’ र ‘जागृतिका शंखघोष’ (कवितासंग्रह–२०६३) ‘तेस्रो रङ्ग’ (कथासंग्रह–२०७०), ‘आँधी’ ‘उपन्यास–२०७६) लगायत दर्जन भन्दा धेरै कृतिहरु प्रकाशित छन् ।

उनले यसअघि व्यथित काब्य पुरस्कार–२०४३, व्यथित काब्य वनिता पुरस्कार–२०६९, योगेश्वर कलासहित्य पुरस्कार–२०७०, नातिकाजी संगीत पुरस्कार–२०७२, बासु शशी स्मृति वानीरा पुरस्कार–२०७८, पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार–२०५७ बाट पुरस्कृत भइसकेकी छन् । यस्तै, रत्नश्री सुवर्ण पदक २०४०, कविता महोत्सव पदक –२०४५, वीरेन्द्र ऐश्वर्य सेवा पदक–२०५८, विश्वनारी नेपाली साहित्य पदक–२०७१, भानुभक्त स्वर्ण पदक–२०७१ र सत्यमोहन जोशी शताब्दी पदक–२०७३ पाइसकेकी छन् ।

विक्रम सम्वत् १९९२ साल पौष १० गते मुस्ताङमा जन्मिएका शेरचन सशक्त कविका रुपमा स्थापित थिए । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ (कवितासंग्रह–२०२५) लाई नेपाली कवितामा विशिष्ट मानिन्छ । भूपिले उक्त कृतिबाट २०२६ सालको साझा पुरस्कार समेत पाएका थिए । यस्तै, ‘परिर्वतन’ (नाटक–२०१०), ‘नयाँ झयाउरे’ (कविता–२०१०) र ‘निर्झर ‘कविता–२०१५) उनका प्रकाशित कृतिहरु हुन् ।