May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

उर्वरा फाउन्डेसन नेपाल राष्ट्रिय सम्मान–२०७९ द्धारा १४ व्यक्तित्वहरु सम्मानित

1.7K

काठमाडौं । उर्वरा फाउन्डेसन नेपाल राष्ट्रिय सम्मान–२०७९ द्धारा १४ जना व्यक्तित्वहरु सम्मानित भएका छन् । फाउण्डेशनले बुधबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा भव्य समारोहको आयोजना गरी साहित्य, संगीत, समाजसेवा, पत्रकारिता, लघुवित्त, पर्यटन, वाणिज्य लगायतका क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा उर्वरा राष्ट्रिय लोक प्रतिभा सम्मानबाट सुरेन्द्र गुरुङ, उर्वरा राष्ट्रिय जलविद्युत ऊर्जा सम्मानबाट गणेश कार्की, उर्वरा राष्ट्रिय संगीत सम्मानबाट चर्चित गायक अशोक मुकारुङ, उर्वरा डायोस्पोरा संगीत सम्मानबाट गायक जीवन शर्मा, उर्वरा डायोस्पोरा समाजसेवी सम्मानबाट समाजसेवी हेम थापा, उर्वरा राष्ट्रिय रेडियो पत्रकारिता सम्मानबाट गीतकार, रेडियो, पत्रकार तुलसी बस्नेत, उर्वरा राष्ट्रिय सम्मानबाट कवि पर्यटन व्यवसायी सुमन घिमिरे उर्वरा डायोस्पोरा साहित्य सम्मानबाट कवि/साहित्यकार नरेश काङमाङ, उर्वरा राष्ट्रिय पर्वतारोहण सम्मानबाट सगरमाथा आरोही देउराली चाम्लिङ, उर्वरा राष्ट्रिय बहुआयामिक कला सम्मानबाट कलाकार लक्ष्मण श्री, उर्वरा राष्ट्रिय युवा उद्यम सम्मानबाट हरी ठकुरी, उर्वरा राष्ट्रिय समाजसेवा रत्न सम्मानबाट रिमा सापकोटा, उर्वरा डायोस्पोरा गीतकार सम्मानबाट गीतकार भुपेन्द्र महत र उर्वरा समाजसेवी सम्मानबाट समाजसेवी शोभाकन्त पाण्डे रहेका छन् ।

फाउन्डेसनकी अध्यक्ष देवकी अभिलासी

वरिष्ठ कवि तुलसी दिवसको सभापतित्व तथा फाउन्डेसनकी अध्यक्ष देवकी अभिलासीको अध्क्षता रहेको उक्त समारोहको प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री तथा नवनिर्वाचिन प्रतिनिधि सभा सदस्य गगन थापा रहेका थिए । यस्तै, विशिष्ट अतिथि युवा नेता तथा समाजसेवी पेमा छिरी शेर्पा, कलाकार तथा पत्रकार सूर्य चन्द, वरिष्ठ गजलकार शितल कादम्बिनी, क्वालिटी फिल्म नेपालका निर्देशक उमेश गुरुङ रहेका थिए ।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गगन थापाले उर्वरा फाउन्डेसनले प्रतिभाहरु खोजेर सम्मान गर्नु प्रसंशायोग्य कार्य रेहको बताए । ‘केहि काम गरिरहनुभएको तर समाजले सम्मान प्रकट गर्न नसकेको पात्रहरुको खोजी गरी सम्मान गरेको पाएँ, यो महत्वपुर्ण कुरा हो । सम्मान कार्यक्रम आयोगना गरी सम्मान गर्ने भन्दा पनि जुन मिहिनेतले प्रतिभाहरु खोज्नुभएको छ त्यसका लागि उर्वरा फाउन्डेसनलाई धन्यवाद दिन्छु ।’, थापाले भने ।

यस्तै, थापाले नेपाली समाजमा गौरब गर्नुपर्ने सानासाना थुप्रै कुराहरु भएको तर नेपाली समाज आत्मसमिक्षा भन्दा पनि आत्मनिन्दा गर्ने ठाउँमा पुग्ने गरेको बताए । उनले भने ‘हामीसँग केहि पनि छैन, हामीसँग जे छ खराब छ, हामी जे छौं गलत छौं, हामीले सही केहि पनि गरेका छैनौं भन्ने आत्मनिन्दातर्फ जान्छौं । हाम्रा साना–साना गौरब गर्नेपर्ने कथाहरु छन्, यसमा पनि हामी सन्तोष मान्न सक्छौं । सबैकुरा खराब छ भन्नेतर्फ लाग्यौं भने समाज अघि बढ्नै सक्तैन ।’

गगन थापा

राजनीतिक क्षेत्रलाई हेर्ने पनि दुई फरक दृष्टिकोण रहेको थापाले बताए । ‘२०६०/६१ तिर काठमाडौंबाट बाहिर कतै जानुप¥यो भने जीवित फर्किन्छौं कि फर्किन्नौं भन्ने लाग्थ्यो । त्यो अवस्थाबाट शान्ति प्रक्रिया अघि बढ्यो, नेपास सँगसँगै शान्ति प्रक्रियामा प्रवेश गरेको थुुप्रै देशहरु हेर्‍यौं भने एउटा युद्ध समाप्त भएको छ तर युद्ध समाप्त भएको अवस्था सम्हाल्न नसक्दाखेरी देश पहिलाको भन्दा ठूलो चक्रव्युहमा फसेको छ । हामीले सन्तोष मान्नुपर्छ ।’, उनले थापाले भने । साथमा आत्मसमिक्षा पनि गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तै उर्वरा डायोस्पोरा संगीत सम्मानबाट सम्मानित गायक जीवन शर्माले सिक्किम र नेपालमा केहि भिन्नता नभएको बताए । ‘नेपालमा जुन आचरण, कला संस्कृति छ त्यसलाई हामीले सिक्किममा पनि यथावत राखेका छौं । गीतसंगीतलाई बचाएर राखेका छौं ।’, शर्माले भने ।

कार्यक्रममा बोल्दै वरिष्ठ कवि तथा कार्यक्रमका सभापति तुलसी दिवसले विविध व्यक्तित्वहरुलाई सम्मान गरेकोमा उर्वरा फाउण्डेशनलाई धन्यवाद दिएका थिए । देश निर्माणमा राजनीतिक भूमिका महत्वर्ण हुने तर त्यो मात्रै प्राप्ति नहुने उनको भनाइ थियो । उनले भने,‘देशको विकास र सन्तुलित रुपले अगाडी बढ्नको निम्ति कला साहित्य र संस्कृतिको साथै यसमा संलग्न व्यक्तिहरुको सम्मान गर्नु अनिवार्य छ ।’

कार्यक्रममा रीना थापामगरले नृत्य प्रस्तुत गरेकी थिइन् भने गायक रुपक डोटेलले गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन राजेश बर्देवाले गरेका थिए ।