काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पानी र बिजुली बेचेर नेपाल धनी बन्न सक्ने बताएका छन् । उनले संविधान र सङ्घीयताको रक्षाका लागि गठबन्धन गरेर निर्वाचनमा होमिएको पनि बताए ।
बुधबार बैतडीको तल्लोस्वराड क्षेत्रको सुल्लेखानमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले स्वारडबासीलाई पञ्चेश्वर परियोजना अगाडि बढ्ने आश्वासनसमेत दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पञ्चेश्वर परियोजना अगाडि बढाउने कुरामा सकारात्मक रहेको बताए ।
‘पानी र बिजुली बेचेर नेपाल धनी बन्न सक्छ । पश्चिमसेती परियोजनाको सम्झौता भएर काम अघि बढिसकेको छ । पञ्चेश्वर परियोजना अघि बढे बैतडीको तल्लोस्वराड क्षेत्रको मात्रै नभएर समग्र देशको विकास हुन्छ,’ उनले भने ।
प्रधानमन्त्री देउवाले आफू छिमेकी जिल्ला डडेल्धुराको बासिन्दा भएकाले बैतडीको तल्लोस्वडा क्षेत्रको समस्याका बारेमा राम्ररी जानकार रहेको बताए । गठबन्धको सरकार बनेपछि पाटन–पञ्चेश्वर सडक कालोपत्रे भइरहेको बताउँदै पञ्चेश्वर परियोजना, महाकाली नदीमा झोलुङ्गे पुल, झुलाघाटमा मोटरेवल पुल र डडेल्धुरा–बैतडीको सुर्नया नदीमा पक्की गठबन्धनको सरकारले बनाउने पनि दाबी गरे ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले माओवादीले गरेको सङ्घर्षका कारण सङ्घीयता आएपछि गाउँमा विकासको अनुभूति हुन थालेको बताए ।
देउवाले बुधबार नै गृहजिल्ला डडेलधुराको भागेश्वरा गाउँपालिका–४ बोगटामा आयोजित चुनावी सभालाई सम्बोधन गरे । संविधान मिचिने खतरा बढेकाले गठबन्धन गरिएको उनले बताए । संविधानको रक्षासँगै देशलाई समृद्ध बनाउन गठबन्धन अझै लामो समयसम्म गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ।