April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बाहिरिदै वडाध्यक्ष बस्नेतको शृङ्खलाबद्ध कर्तुत: सेवाग्राहीलाई फकाउँदै, फर्जी माइन्युट खडा

२०७९ कार्तिक १६

1.6K

इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतको एकपछि अर्को कर्तुत सार्वजनिक हुन थालेको छ ।

उनले आफ्नो गल्तीलाई ढाकछोप गर्न अनेकौं हतकण्टा रच्न थालेका छन् । आफ्नो गल्ती ढाकछोप गर्न तयार गरेको किर्ते कागजातमा आफ्नै सेवाग्राहीलाई प्रयोग गरेको पाइएको छ ।

वडाध्यक्ष बस्नेतले उपभोक्ता समिति गठन गरेको आम भेलाको माइन्युट फर्जी बनाएका छन् । सो फर्जी माइन्युटमा मंगलबार अन्य सेवा लिन आएका सेवाग्राहीलाई पुरानो मितिको आम भेलाको उपस्थिती बनाएर हस्ताक्षर गराएको खुलेको छ ।

Advertisement

उपभोक्ता समिति नै नबनाई योजनाको काम संचालन गरेको समाचार सार्वजनिक भएपछि बस्नेतले आफ्नो गल्ती ढाकछोप गर्न फर्जी माईन्युटमा सेवाग्राहीको हस्ताक्षर दुरुपयोग गरेका हुन् ।

बस्नेतले गएको १३ असोजमा माङ्सेबुङ गाउँपालिका सभाहलमा आम भेलाको आयोजना गरिएको व्यहोराको फर्जी माइन्युट खडा गरि मंगलबार सेवाग्राहीलाई हस्ताक्षर गराएका हुन् ।

वडा कार्यालयमा नागरिकताको सिफारिस लिन एवम् अन्य कामका लागि आएका सेवाग्राहीलाई वडाध्यक्षले फर्जी माइन्युटमा हस्ताक्षर गर्न लगाएको सेवाग्राहीले बताएका छ्न् ।

‘काम सकेपछि २ नम्बरका जतिले यता हस्ताक्षर गर्न आउनु भन्दै वडाध्यक्षले बोलाएर एउटा पुस्तिकामा हस्ताक्षर गर्न लगाउनुभयो’ नाम नबताउने शर्तमा एक सेवाग्राहीले भने, ‘मैले के को र कहिलेको भन्ने हेरिन र सोधिन, सिधै हस्ताक्षर गरेर फर्के । पुरानो मितिको भन्ने थाहा नै भएन, हस्ताक्षर चाहिँ आज नै गरेको हु ।’

माइन्युटको हस्ताक्षर आफैले गरेको स्वीकार गर्दै उनले त्यसरी पहिले नै उपभोक्ता समिति गठन गरेको फर्जी माइन्युट भन्ने थाहा नभएको बताइन् ।

आम भेलाको फर्जी माइन्युटमा आफु र वडासदस्यसहित ३० जनाको नाम लेखेर करिब २६ जना सेवाग्राहीको हस्ताक्षर गराएर वडाध्यक्ष बस्नेत उपभोक्ता समिति गठन गरेको फर्जी निर्णय लेखेका छन्  ।