November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

लन्डनमा भव्य रुपमा मनाइयो बलिहाङ तङनाम

२०७९ कार्तिक १३

4.3K

लन्डन । लन्डनमा भव्य रुपमा बलिहाङ तङनाम मनाइएको छ । लन्डनमा रहेका याक्थुङ लिम्बु समुदायले शनिवार सटवरीमा विविध कार्यक्रम गर्दै यस वर्षको बलिहाङ तङ्नाम मनाएका हुन् ।

किरात याक्थुङ चुम्लुङ, ग्रेटर लन्डनको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि कियाचु यूकेकी केन्द्रीय उपाध्यक्ष अमृता पालुङ्वा रहेकी थिइन् । कार्यक्रममा बोल्दै उनले साँस्कृतिक चाडपर्वले एकताको सन्देश दिएसँगै संस्कृति जगेर्नाका लागि उर्जा दिने बताइन् ।

उक्त अवसरमा गत सिसेक्पा तङ्नाममा आयोजना भएको या?लाङ(धान नाच) प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने ग्रेटर लन्डनका कलाकारहरू र केलाङ(च्याब्रुङ नाच) मा सहभागी हुने कलाकारहरूलाई सम्मान गरिएको थियोे । त्यस्तै, उच्च शिक्षा हासिल गर्ने विद्यार्थी र ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरिएको थियो ।

Advertisement

कार्यक्रममा चर्चित गायक ब्रबिम शेर्माले साङ्गीतिक प्रस्तुति दिएका थिए । उनले आधा दर्जन जति याक्थुङ भाषाका गीतहरू गाए । कार्यक्रममा हाक्पारे, पाःलाम लगायत याक्थुङ लिम्बु समुदायका साँस्कृतिक गायन र नृत्यहरू पनि देखाइएको थियोे । लारिङ्गेक नाम्लिङ्गेकसँगै केलाङ(च्याब्रुङ नृत्य) ले कार्यक्रमको रौनक बढाएको थियोे ।

कार्यक्रममा शाखाका मानार्थ सदस्यहरू एवम् कियाचु यूकेकी सल्लाहकार नरकुमारी वनेम र कियाचु यूकेकी पूर्व उपाध्यक्ष कमला सेन्दाङ, कियाचु यूके सहकोषाध्यक्ष नर सवेन्हिम, मगर संघ लन्डनका अध्यक्ष गञ्जा आले, तमु समाजका अध्यक्ष शिवकुमार गुरूङ र किरात राई यायोक्खा लन्डनका सचिव किरण राई लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रमको संचालन सचिव विमला लिम्बुले गरेकी थिइन् भने साँस्कृतिक कार्यक्रम प्रेम सुहाङ र टेक सुहाङले सञ्चालन गरेका थिए । यस्तै, राफल ड्र खेलाउने कार्य कल्पना आङबुहाङ र नरेन्द्र आङबुहाङले गरेका थिए । यस्तै, स्वागत मन्तव्य उपाध्यक्ष पदम योङहाङले दिए भने सुरक्षासम्बन्धी आवश्यक जानकारी कोषाध्यक्ष राजेन्द्र नाल्वोले राखे ।