काठमाडौं । कवि विमल गुरुङ ‘राष्ट्रिय कविता महोत्सव–२०७९’ का लागि १० कविता छनौट भएका छन् । विमल गुरुङको ५१ औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने ३१ औँ महोत्सवका लागि प्राप्त भएको ६७ कविताबाट १० कविता छनौट गरिएको आयोजकले जनाएको छ ।
कार्तिक १९ गतेका दिन आयोजना हुने महोत्वसवका लागि छनौट भएका उत्कृष्ट १० कविताहरुमा बिशाल नाल्बोको ‘भारतगाउँ’, सीता तुम्खेवाको ‘रातो रुमाल’, सरोज घिमिरेको ‘कोसेली’, प्रदीप योङ्हाङ लिम्बुको ‘स्ट्रेचरमै देश’, युग सर्वनामको आकाश र भोका चिरिविरीहरु’, कमला प्रधानको ‘म आमा जस्तै छु’, कमलराज केसीको ‘युगिन गीत’, एलिसा ढुंगानाको ‘बिमल–बृक्ष र अजम्बरी सपनाहरु’, राधिका कल्पितको ‘पोष्ट मोर्डन सिनेमा’ र गगन योक्पाङ्देनको ‘बालक पवन हलुवाको दिनचर्या’ रहेका छन् ।
यिनै १० उत्कृष्ट कविताहरुबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले रु. २१ हजार, द्वितीयले रु. १७ हजार, तृतीयले रु. ११ हजार र सान्तवनाले रु. १० हजार पुरस्कार प्राप्त गर्नेछन् । सोही दिन २ लाखको विमल गुरुङ कृती पुरस्कार साहित्यकार नरेश काङ्माङ राईको कवितासंग्रह ‘तेप्लायु’लाई प्रदान गरिने पनि आयोजकले जनाएको छ ।
०२८ साल कात्तिक १९ गते जन्मेका विमलको ०४८ वैशाख २४ गते सडक दुर्घटनामा परी निधन भएको थियो । एक्लो कवि, पत्रकार छोराको निधनपछि पूर्व व्रिटिश गोर्खा सैनिक बाबु पूर्णबहादुर, आमा सरस्वती र बहिनी शान्तिले धरान–१८ बुद्धचोकमा कवि विमल गुरुङ स्मृति पुस्तकालय स्थापना गरेर हरेक वर्ष राष्ट्रिय युवा कविता महोत्सव आयोजना गर्दै आएका छन् ।
पुस्तकालयले यसै वर्षदेखि नेपाली भाषामा नेपालीसहित जुनसुकै मुलुकका नागरिकले सबैखाले विधामा लेखिएकामध्ये एक उत्कृष्ट पुस्तकलाई ‘कवि विमल गुरुङ कृति पुरस्कार’ दिने निर्णय गरेको हो ।
