लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले दुई पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । महासंघले अग्रज पत्रकार हरिकुमार गुरुङ ‘काजी’लाई सम्मान र अमित थेबेलाई नगदसहित पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
फोनिज युकेका पूर्व अध्यक्षहरु पूर्ण गुरुङ, विश्वासदीप तिगेला र प्रमिला लाबुङ राईको छनौट समितिले गुरुङ र थेबेलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको हो । घोषणा गरिएको सम्मान तथा पुरस्कार नोभेम्बर ५ का दिन अल्डरसटमा हुने फोनिज युकेको साधारण सभा कार्यक्रममा प्रदान गरिने फोनिज युकेले जनाएको छ ।
गुरुङ अग्रज पत्रकार हुन् । उनी बेलायतबाट एक दशकभन्दा लामो समय प्रकाशन भई हाल अनलाइनमा प्रकाशन भइरहेको ‘एभरेष्ट टाइम्स साप्ताहिक’का संस्थापक सम्पादक हुन् । फोनिज युकेको स्थापनामा गुरुङको महत्वपूर्ण योगदान छ ।
अमित थेबे लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष, किरात याक्थुङ चुम्लुङ युकेका सचिव, लिम्बु पत्रकार संघ, यूकेका अध्यक्ष तथा आदिवासी जनजाति साहित्यकार÷लेखक महासङ्घ, यूकेका अध्यक्ष समेत हुन् । यसका साथै उनी थुप्रै संघसंस्थामा आवद्ध छन् ।
करिब २० वर्ष अघिदेखि साहित्य तथा पत्रकारिता सुरु गरेका थेबेले विभिन्न पत्रपत्रिका तथा अनलाइनहरुमा सम्पादकका रुपमा रहेर काम गरेका छन् । हाल नेपालीसमाचार डटकमका अतिथि सम्पादकको रुपमा कार्यरत छन् ।
थेबेले पुरस्कृत हुने कुराले आफू खुशी भएको बताए । ‘साहित्य र पत्रकारिता क्षेत्रमा करिब २० वर्षको योगदान छ, पुरस्कृत हुन पाउँदा मेरो योगदानको कदर भएको महसुस भएको छ ।’, थेबेले बताए ।
फोनिज युकेले नेपालमा हरेक वर्ष दुई जना आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गर्दै आएकोमा यस वर्षदेखि बेलायतमा पनि पुरस्कार दिन थालेको हो ।