April 12, 2024, Friday
२०८१ बैशाख १
1:37:26 pm

कथाकार माया ठकुरीलाई ‘पद्मश्री साधना सम्मान’ पुरस्कार

1.5K

काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री पुरस्कार २०७८ केशवराज ज्ञवालीको कथासंग्रह ‘अर्को भोर’ ले प्राप्त गरेको छ । राम लोहनी संयोजक, नयनराज पाण्डे र कुमारी लामा सदस्य रहेको निर्णायक समितिले ‘अर्को भोर’ लाई पुरस्कारका लागि उत्कृष्ट कृति ठहर गरेको हो ।

यस्तै, प्रतिष्ठानले पद्मश्री साधना सम्मान कथाकार माया ठकुरी र पद्श्री गौरव सम्मान नेत्र चिकित्सक सन्दुक रुइतलाई प्रदान गरेको छ । पुरस्कार आइतबार राजधानीमा कार्यक्रम आयोजना गरी वितरण गरिएको हो । तीनै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ छ ।

‘अर्को भोर’का कथाहरूमा नवीनतम शैली, फरक कथानक र उत्कृष्ट संयोजन भएकाले पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ । प्राप्त भएका सबै कृति पढेर र स्पष्ट मापदण्ड बनाएर एउटालाई पुरस्कारका लागि छनोट गरिएको समिति संयोजक लोहनीले बताए ।

Advertisement

प्रतिष्ठानले पद्मश्री साधना सम्मान कथाकार माया ठकुरीलाई प्रदान गरेको छ । तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महत्त्वपूर्ण योगदानका लागि दिइएको प्रतिष्ठानले जनाएको छ । ठकुरीका कथाहरू समाजका सूक्ष्म संवेदना र मानवीय भावनाले ओतप्रोत भएको जनाउँदै प्रतिष्ठानले उक्त सम्मान प्रदान गरेको हो । ठकुरीका सात वटा कथासंग्रह, एउटा गीतिसंग्रह र एउटा बालकथासंग्रह प्रकाशित छन् ।

प्रतिष्ठानले यसै वर्षबाट सुरु गरेको पद्मश्री गौरव पुरस्कार भने डा. सन्दुक रुइतलाई प्रदान गरेको छ । दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन संघर्ष गर्दै नेत्र चिकित्सकीय क्षेत्रमार्फत धेरैलाई उज्यालो दिएकाले उनलाई मानवतावादी डाक्टरका रूपमा सम्मान स्वरूप पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

तीनै जनालाई प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सम्मानपत्रसहित नगद राशि हस्तान्तरण गरे ।