November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अनेसासद्धारा आयोजित कविता महोत्सव– २०२२ सम्पन्न, कवि अजित उत्सव प्रथम

3.3K

काठमाडौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कविता महोत्सव– २०२२ सम्पन्न भएको छ । प्रतियोगितामा आबुधाबिका कवि अजित उत्सवको कविता ‘नानीबाबुलाई शिक्षा’ प्रथम र काठमाडौंकी कवि राधिका कल्पितको ‘सन्तानका लागि सङ्कल्प’ द्धितीय बन्न सफल भएको छ भने रामेछापका कवि विक्रमपवन परियारको कविता ‘बन्दीगृह’, अमेरिकाका कवि कोमलप्रसाद भट्टका कविता ‘सम्झनामा राष्ट्रकवि’ र दुराडाँडा, लमजुङका कवि प्रज्वल अधिकारीका कविता ‘पिरतीको आँगन’ तृतीय बनेका छन् ।

विजेताहरुले क्रमशः ५००, ३०० र २०० अमेरिकी डलर नगद प्राप्त गरेका छन् । साथै प्रमाण–पत्रद्वारा सम्मानित हुनेछन् ।

शनिवार साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट सम्पन्न उक्त प्रतियोगिताको निर्णायक मण्डलमा अनेसासका सल्लाहकार गोविन्द गिरी प्रेरणा, साहित्यकार प्रभा भट्टराई र कवि भीष्म उप्रेती रहेका थिए ।

Advertisement

राष्ट्रकविको १०३ औँ जन्मजयन्तीको अवसरमा आयोजित महोत्वसका लागि ३१८ कविताहरु प्राप्त भएको र ६७ जना कविताहरु वाचनका लागि छनौट गरिएकोमा ती ६७ कविहरुले प्रतिस्पर्धाका लागि कविता वाचन गरेको आयोजकले जनाएको छ ।

यी हुन् प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय बनेका कविताहरु

प्रथम कविता ‘नानीबाबुलाई शिक्षा’

–कवि अजित उत्सव

मास्टर साब !
घामका कलिला पाइला टेक्दै
विद्यालय आइपुगेका यी बालबालिकालाई
के सिकाउनु भएको छ तपाईंले ?

सिकाउनुस्– जीवनको लय
जसलाई गाउँदै यी बालबालिकाहरु
गर्न सक्नेछन् दुःखका उकाली ओराली

कोरिदिनुस्– शिक्षाको गोरेटो
बाँकी बाटो आफैँ बनाउँदै
जुनकिरी झैं आफ्नै उज्यालोमा
एकदिन यिनीहरू
पुग्नेछन् सफलताको सगरमाथा

कलिला गोडाहरु हिंँड्ने क्रममा लड्लान्,
आफ्नै बलमा उठ्न सिकाउनुस्
हजारपटक लडेर पनि आफैं उठेपछि
यिनीहरू उभिनेछन् पहरामा उभिएको रुख झैं

खुकुरी र बन्दुक चलाउन होइन
सिकाउनुस् चट्टानी छाती थाप्न
देशलाई परेको बेला ढाल बनेर
यिनीहरूले नै बचाउनेछन् देश

मास्टर साब, के सिकाउँदै हुनुहुन्छ यिनीहरूलाई ?
लैला मजनुको प्रेमकथा या अमर सहिदको जीवनगाथा ?

सुनाउनुस् सहिदका कथा
सिकाउनुस् नेपाली गाउँका भाका

सुनाउनुस् हिमालको कथा
जो पहाडलाई औधी प्रेम गर्छ
–सुनाउनुस् पहाडको कथा
जसले तराईलाई छातीमा टाँस्छ
–सुनाउनुस् तराईको कथा
जो शिरमा सगरमाथा लिएर दसगजामा उभिन्छ ।

मास्टर साब,
यी कलिला बालकलाई विभाजनको धर्म नसिकाउनुस्
असहिष्णुताको जात व्यवस्था नसिकाउनुस्
राजनीतिको अंकगणित नसिकाउनुस् ।

घामका कलिला पाइला टेक्दै
विद्यालय आइपुगेका यी
बालबालिकालाई राष्ट्रगान सिकाउनुस्
राष्ट्रिय झन्डाको रंग चिनाउनुस्
स्वाभिमानी नेपाली बनाउनुस्

एकदिन समय आउनेछ–
उनीहरूले नै यो देश बनाउने छन्
यिनिहरुले नै यो देश बचाउने छन् ।

द्वितीय कविता ‘सन्तानका लागि सङ्कल्प’

–कवित राधिका कल्पित

यी आँखाका दृष्टिहरू धुमिल हुनुपूर्व
लेखीसक्नुछ
भर्खरै जन्मेका छोरीहरूका लागि पुत्रीशिक्षा
सच्चाइसक्नुछ
पाखण्डी पण्डितहरूले चतु¥याइँपूर्वक बङ्गाएका शास्त्रहरू
पुनर्लेखन गर्नुछ
विभेदकारी शास्त्र, मिथक र उखानहरू ।
यी हात– पाउहरू नगल्दै
खुर्केर फाल्नुछ
उनीहरू तातेताते गर्दै हिँड्ने यी बाटाहरूमा
विभेदले जमेको चिप्लो काइ
र बिछ्याउनुछ
चौडा र समानान्तर इट्टाहरू ।
वाक्य बस्नुभन्दा पहिल्यै
पढाउनुछ किशोरीहरूलाई
कसरी खेलिदै आएको छ इतिहासमा
रगत, सत्ता र शरीर–राजनीतिको फोहोरी खेल
बुझाउनुछ
योगमायाका जलसमाधीको रहस्य
सीताको अग्निपरीक्षाको राजनीति
द्रौपदीलाई जुवाको दाउमा राख्ने पुरुषत्वको अनुहार
पुलिङ्गी ‘सुपेरियरिटी कम्प्लेक्स’को समाजशास्त्र ।
यो देहबाट दम छुट्नुभन्दा पहिल्यै
हेर्न सिकाउनुछ
लक्ष्मणरेखा बाहिरको संसार
टेक्न सिकाउनुछ
आफ्नै पैतालाले आफ्नै धर्ती

नाप्न लगाउनुछ
स्व–अस्तित्व र आत्मसम्मानको आयतन
नाच्न लगाउनुछ
स्वतन्त्रताको नयाँ सङ्गीतमा साकेला
र नाघ्न लगाउनुछ
अंशबन्डामा दिएको आधा आकाश ।
नौलो पुस्ताको प्रभात हुनुपूर्व
बढारेर सक्नुछ
धर्म र आडम्बरी संस्कृतिले बढार्दै–बढार्दै
नारीको सारीमा ल्याएर थुपारेको
सङ्कीर्ण संस्कार र सोचको काउसो
र बसाल्नुछ नारीमैत्री बस्ती
जहाँ पढ्न जान छाडेर
लड्न जान वाध्य हुनेछैनन् हाम्रा छोरीहरू !

तृतीय कविता ‘बन्दीगृह’

–कवि विक्रमपवन परियार

रामेश्वर –
यदि बन्दीगृहको पर्खाल भत्काएर निस्कियो भने
के गर्ला सिङ्गदरबारको मुलगेटमा उभिएर ?
उत्पीडनको दलदलमा फसेको बिर्खे दमाई
लगाउँदो हो दबिएको आक्रोस ओकलेर मुक्तिको नारा !
अहो ! कस्तो बन्ला उसको हुलिया
जङ्गबहादुरको सालिक अगाडि उभिँदा ?
र कस्तो बनाउला बहुला काजीले
क्यानभासमा दमन थारूको तस्बिर ?
कहिले फेरिएला–
युद्धले क्षतविक्षत बनाएको मेरो देशको आवरण ?

रामेश्वर–
शिक्षक बन्यो भने–
कसरी पढाउँदो हो पाठशालामा देशको च्याप्टर ?
कसरी खोज्दो हो–
खप्पर जत्रो ग्लोबमा आफु हराएको मानचित्र ?
सायद–
ऊ शिक्षकभन्दा ज्यादा चकको धुलो
र आफैँलाई मेटिरहने डस्टर बन्दो हो ।

हिमालमा नुनको भारि बोक्ने दोर्जे दाइ
हिउँको ऐना हेरेर किन बर्बराउँछन् देश सम्झेर ?

रामविलास भैया–
मधेसको फाँटबाट सहर पसे भने
के संवाद गर्लान् पृथ्वीनारायणको सालिकसँग ?
कसरी बताउलान् आफ्नो माटोको गन्धलाई ?
म पनि यहि जमिनको भुमिपुत्र हुँ भनेर
कसरी दिन्छन् होला तपशिलमा बिसे नगर्चिको बयान ?

( त्यो दिन कति सजिलै भत्किँदा हुन्, साशकका सालिकहरू । )

के गर्लिन् पहाडकी साँईली भाउजू
आँखै अगाडि छातीमा पहिरो गयो भने ?
कसरी मन थामेर बस्दी हुन्
दाइजो नदिएकै निहुँमा छोरी मरिन् भने
के गर्दि हुन् तराईकी फूलमति दिदी ?
सरकार !
एकदिन उनीहरूको चरचरि फुटेको–
रित्तो पैतालाले थानकोट टेके भने ?
कस्तो हुँदो हो यो देशको अनुहार ?

अब हेर्नू छ–
बलिया काँधमा राखेर कसरी बनाउँदा हुन्
सफेद कागजमा आमाको मुटुजस्तो देश
कसरी फुलाउँदा हुन् बारुदमाथि गुँरास ?
कसरी रङ्गाउँदा हुन् विधवा नारीले उजाड बगरजस्तो सिउँदो ?
कसरी सुस्ताउँदै बग्दो हो सहिदको रगत मिसएको तम्मोर नदी ?
जब जब देख्छु आमाको अनुहार
मलाई देशजस्तै लाग्छ ।

तृतीय कविता: ‘सम्झनामा राष्ट्रकवि’

-कवि कोमलप्रसाद भट्ट

प्यारा माधव माधवी मगजका संज्ञानका सारका
भाषा भूषण भाव भव्य भरिला लालित्य शृङ्गारका
चाँदी चन्दन चित्तका चहकिला चौतर्फ सान्दर्भिक
विद्या बुद्धि विवेकले वचनले प्रख्यात सर्वाधिकञ्१

‘गौरीशंकर’ देवता सरि पिता माता मिता ‘द्रौपदी’
आफू सज्जन सादगी सविनयी सत्कर्मका सोमती
रक्षा राष्ट्रियता अखण्ड मतका आदर्शका ओजका
मेधावी मकरन्दले मगमगी सत्सङ्गका सोचकाञ्२

लेखे ’किन्नर–किन्नरी’ कदरका ’गौरी’ छ मर्मान्तक
’दुर्गासप्तशती’ सुधा सरलता ’राजेश्वरी’ रोचक
’नागानन्द’ निमग्नका निखरका झन् ’मालती मङ्गले’
निष्ठाका ’नवमञ्जरी’ कुसुमका माला उने ढङ्गलेञ्३

सज्जा सौम्य ’शकुन्तला’ सरसका छन् ’घामपानी’ मजा
तिष्टाका अनि काङ्गडा विजयका पुर्खाहरूका कथा
केभो काव्य ’ऋृतम्भरा’ विगतको चर्चा कहाँ थन्कियो
पढ्ने चाह समस्तका हृदयमा जस्तो जहाँ जे थियोञ्४

कैयौँ कालजयी विधा विरचना गर्ने महानायक
शैली शिल्प सुभावना सहितका साहित्यका साधक
नाना नाटक वा निबन्ध गतिला सुम्पेर जाने कवि
निर्माता नवनीतका नमनका छर्लङ्गिएका छवि ञ्५

बल्दा दीपक देशका दनदनी रत्नावली रोशनी
मैत्रीपूर्ण मिजासका मननका माधुर्यका मोहनी
कोहेनूर कमालका कलमका आजन्म आकर्षण
न्यानो आदरभाव “राष्ट्रकविमा“ श्रद्धाञ्जली अर्पणञ्६

तृतीय कविता: ‘पिरतीको आँगन’

–कवि प्रज्वल अधिकारी

सुन्तलाका फूलहरू फुलेका हुन्थे– आँगनमा
आमा भान्छामा मकैका फुल फुलाउथीन्
बा खेतमा धानका फूल फुलाउथे
खरको छानामा भंगेराले फुल पार्थ्यो
हामीहरू बाआमाका आँखामा सपना फुलाउथ्यौँ

त्यही बेला त हो– क्रान्ति फुलेको !

क्रान्ति फुलेपछि– सुन्तलाका फूलहरू फुल्नै डराए
दुई तीन दिनपछि बा कुलोमा रातै फुलिरहेका भेटिए
आमा एकाएक फुलीन सेतै भएर

धेरै बर्षपछी…

फुलेको कपाल लिएर त्यहि आँगनमा छु
फुलिरहेछ सुन्तलाको बोटमा ऐंजेरू
बारीभरी गन्दे फुलिरहेको छ
छानामा सर्पले फुल पारिरहेछ
घर वरिपरि –
पाती र गाईतिहारे ढकमक्कै फुलिरहेछन्

यो गाउँ कति प्रेमिल छ
केही न केही फुलाईरहन्छ
यो आँगन कति प्रेमिल छ
यतिका बर्षपछि आउँदा पनि काखमा लिन्छ
र, मेरा आँखामा आशा फुलाउछ !