November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्वर्णिम साहित्य समाजको तेस्रो साधारणसभा सम्पन्न

2.6K

हामी भावनात्मक गफभन्दा व्यवहारमा विश्वास गर्छौं : अध्यक्ष प्रकाश दिप्साली राई

धरान । स्वर्णिम साहित्य समाज बराहक्षेत्र–३ ले आफ्नो तेस्रो साधारणसभा सम्पन्न गरेको छ । बराहक्षेत्र –३ को वडाकार्यालयको सभाहलमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका वडा नम्बर –३ का वडाअध्यक्ष राजदिप लामाले पानसमा दियो बालेर समुद्घाटन गरेका थिए ।

साधारणसभाले पुनः अध्यक्षमा प्रकाश दिप्साली राईलाई चयन गरेको छ । यस्तै उपाध्यक्षमा शरण लिम्बु, सचिवमा लक्ष्मण कट्वाल, सह– सचिवमा सविता फागो चोङ्बाङ र कोषाध्यक्षमा शारदा निरौला “शारु” चयन भएकी छिन् । यस्तै सदस्यहरुमा अच्युत भट्टराई, मनोज विष्ट, मेलिसा चोङ्बाङ, दीपा मग्राती र सुर्य तामाङ चयन भएका छन् ।

बराहक्षेत्रमा लामो समयदेखि साहित्य सिर्जनाप्रति समर्पित स्वर्णिम साहित्य समाजले सयौं दस्तावेजीकरण कार्यक्रमहरु गरेका छन् भने पछिल्लो आयाम नजिक रहेर कार्यक्रमहरु गर्ने गरेकै कारण सबैको प्रिय बनेको छ ।

Advertisement

सर्वसम्मत चयन भएको सो समितिलाई शुभकामना दिदै बराहक्षेत्र – ३ का पुर्व वडाअध्यक्ष रुद्र दाहालले स्वर्णिम साहित्य समाज बराहक्षेत्र नगरपालिकाको सम्पत्ति रहेकोले यसलाई थप व्यवस्थित गर्न बराहक्षेत्रका आम प्राज्ञिक व्यक्तित्वहरु लागि पर्नुपर्ने बताए । उनले भने, ‘यो सस्थालाई १ कठ्ठा जति जग्गा चाहिएको छ, त्यसको निम्ति आफू गम्भीर रहेको र आउने नापीको समयमा त्यसको व्यवस्थापनमा जुट्ने छौँ ।’

यस्तै अर्का वक्ता बराहक्षेत्र–५ का वडाअध्यक्ष रोहित काफ्लेले स्वर्णिम साहित्य समाज बराहक्षेत्रको ईतिहास भएको र आफुले थाहा पाउदादेखि नै सक्रिय रहेको यो सस्थालाई अझ उर्जाशील बनाउन सबैको कर्तव्य रहेको बताउदै आफ्नो वडाबाट स्वर्णिम साहित्य समाजको निम्ति सक्दो र रचनात्मक सहयोग गर्न तयार रहेको बताए ।

साधारणसभामा उभिए बराहक्षेत्रका सिर्जना सम्पत्ति

आफ्नो साधारणसभामा पदाधिकारीको लुछाचुडीको साटोमा बराहक्षेत्र नगरपालिकामा रहेर सिर्जनामा साधना गरिरहेका कवि तथा गजलकारहरुलाई बराहक्षेत्रका सिर्जना सम्पत्तिको रुपमा प्रस्तुत गर्यो । कवि सबिता फागो चोङबाङले सहजीकरण गरेको सो सेसनमा कवि नवराज विष्ट, छबिना लिम्बु र गजलकार अच्युत भट्टराईले आफ्ना ४÷४ वटा कविता तथा गजलहरु सुनाए । कवि नवराज विष्टले “कोदो” कविताबाट रचना वाचनको उघारिएको ढोका अच्युत भट्टराईको गजलहरुसँगै ढोका ढप्काइएको थियो ।

“खुवालुङ सम्पूर्णता रहेछ
सभ्यता रहेछ
सभ्यताको विस्तार रहेछ
आस्था विश्वास र अध्यात्म रहेछ
संस्कार र संस्कृति रहेछ
एकता रहेछ
खुवालुङ त पृथ्वीको प्रतीक रहेछ ।”

– खुवालुङ/नवराज विष्ट

कवि नवराज विष्टले खुवालुङसँगै पत्रकारिता, कोदो कविता सुनाएका थिए । यस्तै गजलकार अच्युत भट्टराईले जम्मा ४ वटा गजलहरुले हलै गुन्जाए । दर्षकहरुले गजल शेरमा वान्समोरसम्म भन्न भ्याए ।
“सुनसान रातमा धिपधिपे टुकी बालेरै भए पनि
प्यारिले पठाको लभ लेटर घोकेर हिँडिन्थ्यो

उनले धोका दिएको बेला मनमा बिरह चल्दा
पानासोनिक रेडियो काधमा बोकेर हिडिन्थ्यो ।”

अर्का नारी हस्ताक्षर कवि छबिना लुङ्गेली मगरले ४ वटा सुन्दर कविताहरु सुनाए ।
“चुटिएको तार जोड्ने गर्छु घरीघरी
म कल्पना गर्ने गर्छु घरीघरी
बुवाको काध टेक्ने मौका नमिलेर होला
उचाई र गहिराईको धरातल नमिलेको हुन सक्छ

बाटो देखाउदै डो¥याउने हातहरु
आधा बाटो मै छुटेर होला
आज लक्ष्यवीहिन भएको हुन सक्छ
बीच बाटो मै कतै अल्मलिएको हुनसक्छ ।”

उनले माथिको कविताङ्शमा प्रस्तुत बुबा सँगसँगै राधा, अभाव र ‘चुनौती छ उसलाई’ जस्ता कविताहरु वाचन गरिन् ।

वक्ता रमेश काफ्लेले “बराहक्षेत्रको साहित्य ः हिजो र आज” बराहक्षेत्र मानव सभ्यताको महत्त्वपूर्ण ठाउँ रहेको भन्दै यहाँका साहित्यको अवस्था हिजोदेखि नै उल्लेखनीय रहेको बताए । पछिल्लो समय झन् उर्वर भएको महसुस गरेको पनि बताए ।

यस्तै वाचन भएका रचनाहरु माथि बोल्दै प्रमुख वक्ता कवि बद्री भिखारीले मंचमा रहेका ३ जना सर्जकहरु बराहक्षेत्रका मात्र नभएर देशको सम्पत्ति उन्मुख भएको बताए । ‘बराहक्षेत्रमा यति दमदार कवि गजलकार हुनुहुन्छ भन्ने मैले सोचेकै थिइँन, उनले थपे ‘आज साच्चै तपाईंहरु सम्पत्ति अनि कवि र गजलकार पनि तपाइहरुको रचनाप्रति कृतज्ञ छु । आफै भित्र रहेका यति सशक्त सिर्जना र सर्जकलाई मंचमा उजागर गर्ने स्वर्णिम साहित्य समाजलाई धन्यवाद ।’

प्रमुख अतिथि बराहक्षेत्र –३ का वडाअध्यक्ष राजदीप लामाले आफ्नो वडामा रहेर बराहक्षेत्रको सिंगो साहित्याकासलाई माथि उठाउने काम गरेकोमा आफूलाई गर्व लागेको बताउदै आफुले सक्दो कला र साहित्यलाई सहयोग गर्ने बताए । उनले भने, ‘साहित्यिक संस्थाहरु भन्ने बित्तिकै प्राज्ञिक थलो हो, यसलाई स्थापित गर्नु हामी सबैको दायित्व हो । म वडाको तर्फबाट सक्दो लागि पर्नेछु ।’

अध्यक्ष प्रकाश दिप्साली राईले स्वर्णिम साहित्य समाज भावनात्मक गफमा नभई व्यवहारमा विश्वास राख्ने बताए । उनले भने, ‘म यस संस्थाको अध्यक्ष हुँदै गर्दा मेरा सदस्यहरुको शिर उच्च राख्न सदा लागिपरेको छु र लागिपरिरहने छु । म बराहक्षेत्रमा बसिरहँदा मैले साहित्य सिर्जनाको विकासभन्दा अरु केही सोचेको छुइनँ । स्थानीय सरकारले साहित्यको नाममा छुट्याएको बजेटको आधा हिस्सामात्र छुट्टाइदिने हो भने पनि कवि कलाकारको ठूलो सम्मान एवम प्रोत्साहन हुनेछ । बराहक्षेत्रको भूमिबाट स्वर्णिम साहित्य पुरस्कार एवम सम्मान प्रदान गरेको दिन बराहक्षेत्रको साहित्याकासको निम्ति एउटा सानो काम गरेछु भन्ने ठान्नेछु । साथै यसको निम्ति खडा गरेको अक्षयकोषमा सबैलाई सहयोग गर्न आग्रह गर्दछु । “स्कुलमा कविता” अर्को महत्त्वकाँक्षी योजना बनाएका छौँ । यसमा नगरपालिका, वडा सरकारको सहयोग हामीलाई अनिवार्य जस्तै हुनेछ । त्यो दिन तपाइहरुको ढोका ढकढकाउन आइपुगेको दिन यहाँहरुले हामीलाई खुसी दिनुहुनेछ ।’

उक्त साधारणसभालाई समाजका सचिव लक्ष्मण कटुवालले सन्चालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शरण लिम्बुले राखेका थिए भने समाजको आर्थिक प्रतिवेदन कोषाध्यक्ष शारदा निरौला “शारु”ले राखेकी थिइन् ।

कार्यक्रमका तस्वीरहरु