बराहक्षेत्र । मोरङको उत्तरी दुर्गम क्षेत्र जेफालेबाट २०७७ भदौदेखि सुरु भएको ‘जेफाले सिर्जना डबली’ले आफ्नो १०० औं अङ्क मनाएको छ । शुक्रबार बराहक्षेत्र– ३ राजधामी चौकस्थित एक कार्यक्रमको आयोजना गरी हस्तकलाकार रामकुमार तिवारीसँगको अन्तरङ्गसँगै १००औं अङ्क मनाएको हो ।
कार्यक्रममा जेफाले सिर्जना डबलीका अभियन्ता युवराज ठकुरी र छाँयाकार हुलास साही ठकुरीलाई फूलमाला र खादा लगाएर स्वागत तथा सम्मान गर्दै ‘१०० औं अङ्क, विशेष अङ्क’ लेखिएको केक ठकुरीलाई काट्न लगाउदै १०० औं अङ्कको अवसरमा डबलीलाई बधाई ज्ञापन गरिएको थियो । यस्तै, उपस्थित कवि तथा लेखकहरुले एक आपसमा खुशीयाली साटासाट गरेका थिए ।
उक्त विशेष अङ्कलाई शुभकामना दिन आएका प्रख्यात गजलकार रोमु अधिकारीले जेफाले सिर्जना डबली यस समयको प्रभावकारी अभियान रहेको उल्लेख गरे । साथै, कुनाकाप्चा र ओझेलिएका सर्जकहरुलाई प्रकाशमा ल्याउनु यसको विशेषता भएकोले पनि आजसम्मको यात्रा गर्न सफल भएको बताए ।
यस्तै धरानबाट आएका अर्का कवि भिम विरही राईले जीवन मरणको दोसाँध कोरोना कहरको बेला सुरु भएको जेफाले सिर्जना डबलीले जीवनलाई सदा आशाको दियो जगाईरहने महत्त्वपूर्ण भुमिका खेलेको बताए । यस्तै आफू परदेशमा रहँदा खुबै सुनिरहेको अभियानलाई १०० औं अङ्कको अवसरमा यसरी आमनेसामने भएर आफैले शुभकामना दिन पाउँदा आफू भाग्यमानी भएको बताए ।
उक्त विशेष अङ्कमा बराहक्षेत्र र आमन्त्रित सर्जकहरुले रचना वाचन समेत गरेका थिए । लक्ष्मण कट्वाल, रबिन्द्र केदेम, शारदा निरौला, दुर्गा बस्नेत, बुद्धि तेम्बे माइला, सूर्य तामाङ, छबिना लुङ्गेली मगर, अच्युत भट्टराई, लक्ष्मीनारायण राजधामी, सबिता फागो लगायतले कविता तथा गजलहरु प्रस्तुत गरेका थिए ।
१०० औं अङ्कको विशेष अवसरमा बोल्दै डबलीका अभियन्ता युवराज ठकुरीले आजसम्म यो डबलीका निम्ति आफूले गरेको दुख र संघर्ष आजको यो विशेष अङ्कले भुलाइदिएको बताए । उनले थपे, ‘बराहक्षेत्रका कवि तथा लेखकहरुको यो माया र सद्भावले आज म साच्चै भावुक छु । मसँग बोल्ने शब्दै छैन । खासमा यो हामीले गर्ने कार्यक्रम हो, तर भावना आफूमा मात्र सिमित नहुँदो रैछ, जेफाले सिर्जना डबलीको निम्ति यो आजसम्मै खुसीको क्षण हो । स्वर्णिम साहित्य समाजले यो विशेष अङ्कको संयोजन गरेर अरु जिम्मेवारी थपिदिनु भएको छ । म आज धेर बोल्न सक्ने अवस्थामा छैन, म साच्चै नै भावुक छु । बराहक्षेत्र र बराहक्षेत्र नगरपालिकभरिका कवि तथा लेखकहरुको सम्झना यो मुटुभरी साची रहने छु ।’
कार्यक्रमको अन्त्यमा कवि सबिता फागो चोङ्बाङले जेफाले सिर्जना डबलीलाई आफ्नो भूमिमा पाउनु स्वर्णिम साहित्य समाजको अहोभाग्य भएको बताइन् । उनले भनिन् ‘यो डबलीको १०० औंमनाउने अवसर प्रदान गरेकोमा डबलीप्रति धन्यवाद ज्ञापनको साथमा आगामी दिनको कार्य सफलताको शुभकामना व्यक्त गर्दछु ।’
पूर्वमा लामो समयदेखि साहित्य र सिर्जनामा समर्पित स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३ ले १०० औं अङ्कको विशेष अङ्कको संयोजन गरेको थियो ।
कार्यक्रमका अन्य तस्वीरहरु