काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको उपन्यास ‘कसुर’ विमोचन गरिएको छ । बुधबार राजधानीमा एक विशेष सामारोहबीच डा. उपाध्यायको १४औं उपन्यास ‘कसुर’ विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि निर्देशकर लेखक तथा विशिष्ट कलाकार मोहन निरौला, गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघकार उपाध्याक्ष वसन्त वित्यासी थापा, स्रष्टा डा. उपाध्याय, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, पुस्तकका सम्पादक कृष्ण भुसालले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।
उक्त कृतिमा संमिक्षात्मक टिप्पणी राख्दै श्रेष्ठले ‘कसुर’ सामाजिक उपन्यास रहेको बताए । उनले हाम्रै समाजमा रहेका विभिन्न घटनाक्रमलाई स्रष्टा उपाध्यायले यो उपन्यासमार्फत उजागर गरेको बताए । उपन्यासमा जनकपुरदेखि, काठमाडौंका विभिन्न ठाउँ र चीनसम्मका स्थान र पात्रलाई समावेश गरिएको भन्दै उपन्यासलाई पाठकले मन पराउनेमा आफू विश्वस्त रहेको जिकिर गरे ।
यस्तै, स्रष्टा लेकालीले कृतिमा सामाजिक विषयवस्तु रहेको र पछिल्लो समय शैक्षिक परामर्शको नाममा खुलेका ‘कन्सल्ट्यान्सी’ का बदमासीका बारेमा पनि उल्लेख गरेको बताए । गीतकार देवकोटाले डा. उपाध्यायको मूल लेखन गीत नै भएपनि उहाँका लगातार उपन्यास पनि पाठक माझ आइरहेको र डा.उपाध्याय वहु प्रतिभाका धनी रहेको धारणा राखे ।
कार्यक्रमका प्रमुख अतिथि विशिष्ट कलाकार निरौलाले डा. उपाध्यायका कर्महरूको प्रशंसा गर्दै उहाँको लेखन कार्य अझ मौलाउदै जाओस् भन्दै उपन्यास कसुर फिल्म बन्न सक्ने खालको कृति भएको टिप्पणी गरे ।
गीत संगीत तथा विविध विधाबाट डा. उपाध्यायले ११० विश्व रेकर्ड कायम गरेका छन् । यतिधेरै विश्व रकेर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुन् । कीर्तिमानी डा. उपाध्यायका २८ एल्बमका सयौं गीत स्रोता र दर्शकमाझ छन् । यस्तै, उनका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र भाइरस लभ जस्ता उपन्यास पाठक माझ आएका छन् ।