March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

कोसीमा पानीको बहाब फेरि बढ्नसक्ने, ब्यारेजका २९ ढोका खोलियो

1.9K

राजविराज — सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक रुपमा फेरि बढ्ने आकलन गरिएको छ । पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाब अस्वभाविक रुपमा बढ्ने अनुमान गरिएको हो ।

कोसी नदीमा पानीको अत्यधिक बहाब हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।

उनका अनुसार तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनसमेत आग्रह गरिएको छ । पानीको बहाब हेर्दा शनिबार साँझसम्म कोसी ब्यारेज भएर ५ लाख क्युसेकभन्दा बढी प्रति सेकेन्डका दरले बहाब हुनसक्ने अनुमान गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । ब्यारेजको संरचनासहित तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको काफ्लेले बताए ।

Advertisement

कोसीमा अत्यधिक बहाब हुनसक्ने भएपछि सुनसरीमा पनि उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यस्तै बस्तीतर्फ कोसी प्रवेश गरेकोले उदयपुरमा पनि उच्च सतर्कता अपनाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।

५ लाख क्युसेकभन्दा बढी पानीको बहाब भए कोसी ब्यारेजको संरचनासहित तटबन्धहरूमा समेत क्षति पुग्ने खतरा रहन्छ । यस्तै धेरै स्थानमा ओभरफ्लो भइ पानी नदीभन्दा बाहिरिन सक्ने खतरा रहेको बताइन्छ ।

केसी ब्यारेज नियन्त्रण कक्षका अनुसार अहिले कोसी ब्यारेज भएर पानीको बहाब बढिरहेको छ । शनिबार मध्याह्न १२ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख २ हजार ४ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको छ । यस्तै ब्यारेजका २९ वटा ढोका खोलिएको छ । अहिले कोसी ब्यारेजमा भइरहेको बहाबभन्दा ५ हजार क्युसेक बढी बहाब चतरामै मापन गरिएकाले पानी तीव्रताका साथ बढिरहेको हो ।