April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अर्को संस्करणमा भेट्ने बाचासँगै सकियो “केराबारी साहित्य उत्सव– २०७९”

6.4K

जेफाले/प्रकाश दिप्साली राई

“हिजो टाइगर हिल र श्रीअन्तुमा
निराश बनेका आँखाहरु
जेफालेको सौन्दर्यमा
कति कति रमायो ?

कल–कल बग्ने खदमको प्रवाहले
जीवन जिउने आँट पलायो
भो अब बादलुको घुम्टो खोज्न
जानू छैन कहिँ पनि
चिउरी र आइतबारे
हामीसङ्ग छँ दै छ नी………. ।”

(हाम्रो जेफाले/मनोज खड्का)

Advertisement

तन्नेरी असारे झरीका बाबजुत गत असार ४÷५ गते जेफालेको फेदी हाबेचौरीमा कवि मनोज खड्काको यी नै सुन्दर बान्कीका कविताले दैलो उघारेको “दोश्रो केराबारी साहित्य उत्सव –२०७९” अर्को संस्करणमा भेट्ने वाचाका साथ गत आइतबार सम्पन्न भएको छ ।

असार ४ गतेदेखि सुरु भएको सो उत्सवमा ३ वटा सेसनहरु रहेका थिए । उत्सवको उद्घाटन सुन्दर पर्यटकीय स्थल जेफालेमा कार्यक्रमका प्रमुख अतिथि केराबारी गाउँपालिका वडा नम्बर–२ का वडाअध्यक्ष प्रेम लिम्बुले व्यानरको नारा वाचन गरेर कार्यक्रमको समुद्घाटन गरे । कार्यक्रमको पहिलो दिन स्थानीय सर्जकहरुको सम्मानमा “केराबारीमा फुलेका फुलहरु” सेसन राखिएको थियो । जसमा केराबारी भरी रहेका कवि गजलकारहरुले रचना वाचन गरेका थिए । शुक्र आङ्ग्देम्बेले सहजीकरण गरेको सो सेसनमा गजलकार अस्मिता भटटराई, कविन तुम्बापो, नगेन्द्र सुवेदी, राजेश किराँती लिम्बू, चबेगु राज सानु, नवीन थापा क्षेत्री लगायतले गजल तथा कविता वाचन गरे । यस्तै दोश्रो दिन आमन्त्रित पाहुनाहरुको गजल तथा कविताको सेसन ‘अक्करले नसुनेका गजलहरु’ र ‘८ कविका ८ कविता’ प्रस्तुत भयो । पहिलो सेसन ‘अक्करले नसुनेका गजलहरु’ गजलकारहरु लक्ष्मण कटुवाल, रोमु अधिकारी, जि.बि. गजल, प्रतिमा गुरुङ, हरी पराजुली, राई , सुमन राई र बिबश बलिभद्र कोइरालाले गजलहरु वाचन गरेका थिए । सो सेसनको सहजीकरण गजलकार अस्मिता भट्टराइले गरेकी थिइन् । सो सेसनका गजलहरुले जेफालेलाई गजलमय बनाएको थियो ।

“अपार माया गरेँ, खेल भन्यौ सानु
दिल भित्र राख्न खोजेँ,जेल भन्यौ सानु ।

तिमीसँगै बाँच्ने रहर हुँदा हुँदै पनि,
डाँडा काटी जाने रेल भन्यौ सानु ।“

अजम्बरी पिरती लाउने धोको हुँदा पनि,
बर्खायाममा आउने भेल भन्यौ सानु ।”

(लक्ष्मण कटुवाल/बराहक्षेत्र )
***
“कमसेकम कुवाबाहिर निस्क कुवाले संसार देखाउँदैन
ऐना किन एउटा दुरबिनले आफ्नो अनुहार देखाउँदैन ।

यो दुनियाँ तिमीले सोचेकै जस्तो छैन सम्झेकै जस्तो पनि छैन
घुमेर हेर छोएर पनि हेर अनुमानले निधार देखाउँदैन ।”
(विवश बलिभद्र कोइराला/ इलाम)

र, सुरु भयो ‘८ कविका ८ कविता’ कविताहरुको सेसन । ज्यादै सुन्दर ढङ्गले युवराज ठकुरीले प्रस्तुत गरेको यो सेसनमा दीपा मग्राती, एकराज थापा, बिराट अनुपम, केजि सुब्बा, शकुन्तला मन्जरी, भरत गुरागाई र देवान किराँतीले आफ्नो दमदार कविताहरु राखे ।
“हाबेचौर टेकेर
उभिएको जेफाले
आफै अग्लो थियो, आफै सुन्दर थियो
जेफाले झन अग्लो हुन चाह्यो, जेफाले झन् सुन्दर हुन चाह्यो
र लगायो ४ तले कङ्कृटको श्रीपेच ।
आजकल त जेफाले, हावेचौरलाई पनि जेफाले भन्छ ।

जेफालेलाई हावेचौरको प्रश्न छ
– राजाको श्रीपेच र सत्ता हटाएको देशमा
जेफालेको श्रीपेच र सत्ताको आयु कति दिन टिक्न सक्छ ?

(बिराट अनुपम/जेफाले)
***
“म एउटा अस्तित्व हुँ
साम्माङ युग र सुपर कन्टिनेन्टको
मुन्धुमले बकेको सत्य जस्तै
डिएनए सरिरहेको छु युग युग देखि
युग युग सम्म ।

कसरी आँए होला समयको नाइल जस्तै
मानसरोबर तल तल सम्म ।

कहिले युक्पुङ्गेनले हानेको छेलोको ढुङ्गा
फक्ताङ्लुङ नै होला भन्ठान्छु
कहिले मिक्लाजुङको निगालो घारीबाट रसिएर
कम्फु दोभानको सङ्लो पानीमा ऐना हेर्छु
र मन मनै गम्छु
म कुन चक्रवती सम्राटको कहिल्यै नमासिने
बिलुप्त युवराज हुँ
म कुन आपुङ्गी राजाको कतिऔं पुस्ता तल खसेको
अवतारी राजा हुँ ।”

(केजि सुब्बा/अस्तित्वको क्रनोलजी)

कार्यक्रमका प्रमुख अतिथि प्रेमकुमार राई , केराबारी -२ का वडाअध्यक्ष ।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि केराबारी गा.पा.– २ का वडाअध्यक्ष प्रेमबहादुर लिम्बुले यस्तो असारे झरिकाबीच आफ्नो थलो (भूमि)मा उपस्थित जनाउने सबैलाई धन्यवाद ज्ञापन गरे । ‘प्रतिकुल मौसममा पनि जटिल यात्रा गरेर यतिका साहित्य सर्जकहरु उपस्थित हुनुले जेफालेको गरिमा अझ बढेको महसुस गरेको छु । भौतिक विकास मात्र नभएर बौद्धिक विकासतर्फ पनि मेरो उत्तिकै प्राथमिकता रहनेछ, साहित्यिक कार्यक्रमले बौद्धिक ब्यक्तित्व जन्म गराउँछ , आगामी बर्ष पनि बृहत् केराबारी साहित्य महोत्सव कार्यक्रमलाई निरन्तरता दिन बजेटको व्यवस्थापन गर्न कुनै कसुर राख्ने छैन ।” वडाअध्यक्षको यस्तो प्रततिबद्धताले उपस्थित कवि लेखकहरु अर्को वर्ष भेट्ने भन्दै हातमा हात मिलाउदै छुटेका थिए ।

सो कार्यक्रमको संचालन गजलकार एवम साहित्यिक अभियन्ता युवराज ठकुरीले संचालन गरेका थिए । स्वागत मन्तव्य केराबारी –२ का वडासचिव रन्जित बुढाथोकीले राखेका थिए भने सभाध्यक्ष भने कवि एवम केराबारी कला÷विकास केन्द्रका अध्यक्ष नवीन थापा रहेका थिए ।