काठमाडौं । दिपा मेवाहाङ राईको पहिलो कृति कवितासंग्रह ‘यादको सन्दुक’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा एक कार्यक्रम आयोजना गरी संग्रहको लोकार्पण गरिएको हो ।
लोकार्पण कार्यक्रममा कृतिबारे साहित्यकार तथा लेखकहरु विप्लप प्रतीक, बिना थिङ तामाङ, पशुपति राई र अर्पण उत्कर्षले विचार व्यक्त गरेका थिए ।
‘यादको सन्दुक’को समीक्षा गर्दै कवि विप्लप प्रतीकले कविताहरू प्रेमिल भएको साथै प्रेमका विविध पक्षलाई दिपाले भावमा प्रस्तुत गरेको बताए ।
यस्तै, साहित्यकार बिना थिङले वादहरुभन्दा माथि उठेर कविता लेखेको भन्दै भनिन्, ‘कवितामा कसैलाई प्रहार गरिएको छैन । कुनै वादहरू मिसाइएको छैन । वादहरुभन्दा माथि उठेर दिपाले कविता लेखेकी छन् ।’
त्यसैगरी पशुपति राईले कविता सरल र हृदय छुने भएको बताइन् । कवितामा सम्बन्धहरुलाई जोड दिइएको उनले बताइन् ।
यस्तै, अर्पण उत्कर्षले नेपाली साहित्यक आन्दोलनलाई योग्दान दिने छुट्टै खालको कृति भएको बताए । कविता संग्रहमा छोटा र लामा कविता भएको र छोटा कविताले मन, मुटु, मस्तिष्क जता पनि छुने उनको भनाइ थियो ।
कार्यक्रममा स्वप्निल स्मृति र सङ्गीता थापाले सङ्ग्रहबाट केही कविता वाचन गरेका थिए । पुस्तकको प्रकाशन फिनिक्स बुक्सले गरेको हो । लेखन दिपा भने हाल दक्षिण कोरियामा कार्यरत छन् ।
यादका सन्दुकमा ४८ वटा कविता समावेश छन् । यो उनको पहिलो एकल कृति हो । संयुक्तमा कविता सङ्ग्रह ‘इतर कविता’ र संयुक्त कथा सङ्ग्रह ‘छकालै’मा उनका कविता र कथा प्रकाशित भइसकेको छ ।