April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साहित्यकार कविता राईको उपन्यास ‘गुरू’ माथि परिचर्चा

3K

इटहरी । साहित्यकार कविता राईको उपन्यास ‘गुरू’ माथि परिचर्चा गरिएको छ । शब्द प्रवाह इटहरीको आयोजनामा शनिबार इटहरीमा परिचर्चा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै सर्जक कविता राईले शिक्षकमाथि केन्द्रीत रहेर उपन्यास तयार गरिएको बताइन् । ‘शिक्षकलाई समाजले उपेक्षित गरिएको हुनाले यो उपन्यास लेखिएको हो, यो उपन्यास लेख्दा केटाकेटीहरूसँग हराएँ, संवेदनशील भएँ, शिक्षकको वास्तविक जीवनमा आधारित रहेर उपन्यास तयार पारेँ ।’, उनले आफ्नो अनुभव सुनाइन् । उपन्यासका पात्रहरू यथार्थ रहेको पनि उनले जानकारी दिइन् ।

उपन्यास ‘गुरू’ माथि बोल्दै कार्यक्रमका वक्ता लेखक तथा विश्लेशक प्रकाश राईले भने, ‘साझा मानिसहरूको मनोविज्ञानका रूपमा यो उपन्यास आएको पाइन्छ, यसले मार्मिक सन्देश प्रवाह गरेको छ ।’ उनले उपन्यासमा प्रेमको शक्ति ठूलो रहेको पनि उदृत गरे ।

Advertisement

कार्यक्रमको संचालन गर्दै कवि तथा पत्रकार विराट अनुपम, साथमा कार्यक्रममा उपस्थितहरु ।

यस्तै, वक्ता तथा कवि शुभलक्ष्मी लम्सालले आफ्ना विद्यार्थीसँग रमेरै उपन्यास तयार पार्नुले लेखक सफल भएको तर्क गरिन् । उनले भनिन्, ‘मान्छे बाहिर जस्तो हुन्छ, भित्र त्यस्तो हुँदैन, शिक्षकहरू बाहिर जलेर पनि भित्रभित्रै पढाइरहेछन् ।’ उनले पहिलो उपन्यास नै खारिएर निस्किएको बताइन् ।

अर्का वक्ता तथा कवि टीका आत्रेयले पुस्तक पढ्दा भावुक हुने भएकाले धेरै ठाउँमा रुवाउने अनुभव सुनाइन् । लेखकीय पाटो काव्यिक भएको र एउटा कविले लेखेको उपन्यास काव्यिक शैलीको हुन्छ भन्ने उदाहरण यो पुस्तक भएको उल्लेख गरिन् ।

कवि बद्री भिखारीको अध्यक्षतामा भएको कार्यक्रमलाई कवि तथा पत्रकार विराट अनुपमले संचालन गरेका थिए ।