April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नवीन अभिलाषीको ‘मौलामा बाँधिएको राँगो’ सार्वजनिक

2.7K

काठमाडौं । कवि नवीन अभिलाषीको ‘मौलामा बाँधिएको राँगो’ कविता सङ्ग्रहको विमोचन भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वरिष्ठ कवि तथा समालोचक डा. अमर गिरीले सङ्ग्रहले वर्तमान समयको चेतलाई पछ्याएको बताए ।

गिरीले अहिले समाज मात्र नभएर साहित्यमा पनि धेरै समस्या विद्यमान भएकाले त्यसलाई चिर्ने गरी कवि लेखकले कलम चलाउनुपर्ने बताए । ‘अहिले समाज आफैमा क्षतविक्षत अवस्थामा त छ नै, साहित्य पनि त्यसबाट टाढा रहन सकेको छैन र त्यो नेपालको मात्र समस्या नभई विकसित मुलुकको साहित्यको प्रवृत्ति पनि यस्तो देखिएको छ’, डा. गिरीले भन्नुभयो, ‘कविमा इमान्दारीता हुनु जरुरी छ, लेखन एउटा अनुशासनको बिम्ब हो, त्यसलाई पछ्याउन सक्नुपर्छ ।’, उनले भने ।

यस्तै, कवि नवीन अभिलाषी सचेत पूर्वक समाजका विविध पक्षमा काव्य भाव निर्माण गर्ने कविको रुपमा देखा परेको बताए । कार्यक्रममा कविता सङ्ग्रहको समीक्षा गर्दै कवि, लेखक तथा समालोचक महेश पौड्यालले सङ्ग्रहमा मानव जीवनका उत्साह निराशा, आवेग र संवेगको भीड रहेको बताए । सामाजिक परिवर्तनका लागि कविले आफ्नो कलम चलाउँदै गर्दा आफ्ना निराशाहरू समेत कवितामा व्यक्त गरेको बताए । उनले निराशालाई उत्साहमा परिवर्तन गर्नु र समाजलाई सिकाउनु कविको अहम् जिम्मेवारी रहेको पनि बताए ।

Advertisement

यस्तै कवि तथा लेखक सविता विमलीले सामाजिक मुद्धा लेखनमा फरक रुपमा आइरहेको सन्दर्भमा यो कविता सङ्ग्रहले यथार्थतालाई टेकेर विचार र मुद्धा उठाएको बताए । उनले एउटा मानिसले जीवनमा भोगेका विषय त्यो समाजको व्यवस्थासँग ठोक्किने भएकाले समाजको व्यवस्था सुधार गर्ने पक्षमा कविता सङ्ग्रहले आवाज उठाएको टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै कवि नवीन अभिलाषीले कुनै तर्क नगरी यथार्थताको धरातलबाट आफूले कविता लेखेको बताए । उनले सिमान्त भूगोलमा बाँचिरहेका मानिसको कथालाई कवितामा उल्लेख गरेको भन्दै सामाजिक व्यवस्थाको सुधारात्मक पक्षमा उभिएको बताए ।

कार्यक्रमको सहजीकरण सूर्य बिसीले गरेका थिए । विएन पुस्तक संसारले प्रकाशन गरेको कविता सङ्ग्रह कवि अभिलाषीको तेस्रो सङ्ग्रह हो ।