April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साहित्यकार वाशुदेव भट्टको निधन

3.8K

कञ्चनपुर : साहित्यकार वाशुदेव भट्ट ‘भाइसाब’को ७८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएका भीमदत्त नगरपालिका–१८ कटानस्थित आफ्नै निवासमा आइतबार राति उनको निधन भएको हो।

भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका पूर्वडिन भारतीय जोशीले बताइन्। ‘साहित्यकार भट्टका लोक साहित्य र लोक संस्कृति संरक्षणमा ठूलो योगदान रहेको छ‚’ उनले भनिन्‚ ‘सुदूरपश्चिमको लोक साहित्यमा गहिरो अभिरुचि राख्नेमा उहाँ अग्रपंक्तिमा हुनु हुन्थ्यो ।’

सुदूरपश्चिमको साहित्य, शिक्षा, समाजसेवा, राजनीति र मानवाधिकारका क्षेत्रमा समेत भट्टको महत्वपूर्ण योगदान रहेको उनले बताइन्।

Advertisement

सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा समेत भट्टको योगदान रहेको छ। भट्ट साहित्यकारका रुपमा मात्रै नभएर मानव अधिकारकर्मीका रुपमा समेत परिचित थिए। उनी महाकाली साहित्य संगमका संस्थापनक अध्यक्ष समेत हुन्।

तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष, महेन्द्र माविका पूर्वशिक्षक भट्टले लोक साहित्य र लोकसंस्कृतिबारे कलम चलाउँदै आएका थिए। उनका दर्जनौं पुस्तक प्रकाशित छन्। भट्टको जन्म २००० असार ५ गते बैतडीको दशरथचन्द नगरपालिका-५ मा भएको थियो।