March 13, 2025, Thursday
२०८१ फाल्गुन २९
1:37:26 pm

निमित्त प्रहरी महानिरीक्षक निरज बहादुर शाहीबाट दर्ज्यानी चिन्ह सुशोभन

2.6K

काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ८ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू बिकाश राज खनाल, सुदिप राजभण्डारी, अनुराग कुमार द्विबेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुबराज राउत र भोला बहादुर रावल रहेका छन् ।

नेपाल सरकार मन्त्रीस्तरको २०७८ मंसिर ७ गतेको निर्णयअनुसार उनिहरु प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका हुन् ।

Advertisement

उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्राप्त जिम्मेवारीलाई थप सजग र ईमानदार भई कार्यसम्पादन गर्नुपर्ने बताए । पदोन्नतिले जिम्मेवारीका साथै सामाजिक प्रतिष्ठा बढ्ने भएकोले यसलाई कायम राख्न उनले आग्रह गरे ।

निमित्त प्रहरी महानिरीक्षक शाहीले संगठनको विकास र थप उन्नतिका लागि नविन कार्ययोजनाका साथ योजनावद्ध रुपमा अगाडि बढ्नुपर्ने उल्लेख गरे । वरिष्ठ प्रहरी अधिकृतहरूले मातहत प्रहरी कर्मचारीलाई समेत उत्प्रेरित हुने गरी हौसला प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक विकाश राज खनालले प्राप्त जिम्मेवारीलाई ईमानदार एवं उर्जाशील भई व्यावसायिक निष्ठाका साथ आफ्नो अनुभव, ज्ञान, सीप, क्षमता प्रयोग गरी उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।