काठमाडौँ – शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बसपार्कमा भेटिनुभएकी राधिका ओलीले सहज रुपमा बसको टिकट काट्नुभयो ।
दिउँसो २ः०० बजे बसपार्कमा भेटिनुभएकी उहाँ कम्युटर प्रणालीमार्फत टिकट लिन पाउँदा खुशी देखिनुहुन्थ्यो । “पहिला दाङ जानका लागि बसपार्कमा आउँदा सार्वजनिक बसका कर्मचारीले तानातान गरेर हैरान पारेका थिए, यसपटक सहज रुपमा दाङ जाने बसको टिकट काउण्टरमा गएर सहज टिकट लिन पायाँै”, उहाँ भन्नुहुन्छ ।
दिउँसो ४ः४५ बजे बुर्तिवाङ जानका लागि धौलागिरि यातायात सेवा प्रालिको बा ५ ख १५५३ नं को बसको टिकट लिन नयाँ बसपार्क पुग्नुभएका टेकबहादुर सुनुवार पनि सहज रुपमा टिकट लिन पाउँदा निकै खुशी देखिनुहुन्थ्यो । “पहिला हस्तलिखित टिकट हुन्थ्यो, टिकटमा पूरा नाम पनि लेख्दैनथ्यो, अहिले कम्युटर प्रणालीमार्फत पूरा नाम, गन्तव्यस्थल, बस नम्बर, बस छुट्ने समय, बसको सिट नम्बर र रकम स्पष्ट लेखेको हुँदा सहज भएको छ”, उहाँ भन्नुहुन्छ । यस्तै, दिउँसो ३ः०० बजे भालुवाङ जानका लागि ना ६ ख १३८८ नं को बसमा टिकट काट्न दिउँसो १ः०० बजे नयाँबसपार्क पुग्नुभएका किसन ओलीलाई पनि टिकट लिन निकै सहज भयो ।
पहिला बस टिकट काट्न धकेलाधकेल हुने गरेकामा अहिले त्यस्तो अवस्था नआएको उहाँको भनाइ थियो । प्रविधिको प्रयोगसँगै नयाँ बसपार्कबाट देशभरका गन्तव्यस्थलमा कुन समयमा कुन बस छुट्ने भन्नेबारे यात्रुले सहजै जानकारी लिन सक्नेछन् । यी केवल प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो समय बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिले विभिन्न यातायात प्रालिसँग मिलेर प्रविधिको प्रयोग भित्र्याएसँगै यात्रुलाई टिकट लिन सहज भएको हो ।
कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण झण्डै छ महिना बन्द रहेको समयको उपयोग गरी ल्होत्से बहुउदेश्यीय प्रालिले सरकारको निर्देशनअनुसार प्रविधिलाई नयाँ बसपार्कमा भित्र्याएको हो । ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर नयाँ बसपार्कभित्रको टिकट काउण्टरमा हुने भीडभाडलाई कम गरी कोरोना सङ्क्रमण फैलन नदिन प्रविधिको प्रयोगमार्फत टिकट काट्ने व्यवस्था मिलाइएको बताउनुहुन्छ ।
“समयको परिवर्तनसँगै सरकारले ‘डिजिटल नेपाल’को परिकल्पना गरेको छ, त्यसलाई पूरा गर्न हामी लागिरहेका छौँ”, उहाँ भन्नुहुन्छ । नयाँ बसपार्कमा अहिलेसम्म ३० काउण्टरमा कम्युटर प्रणाली जडान गरे पनि १२ काउण्टरबाट मात्र यात्रुलाई सेवा प्रदान गरिएको छ । बाँकी काउण्टर पनि चाँडै नै सञ्चालन गर्ने तयारी गरिएको छ ।