April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साहित्यकार लीलबहादुर क्षेत्रीसहित ३ नेपालीभाषीलाई भारतको प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’

२०७८ कार्तिक २२

4.5K

काँकडभिट्टा — भारतको असमका साहित्यकार लीलबहादुर क्षेत्रीसहित तीन नेपालीभाषीलाई भारत सरकारले प्रतिष्ठित ‘पद्मश्री पुरस्कार’ बाट सोमबार सम्मान गरेको छ ।  प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने यो पुरस्कार अघिल्लो वर्ष भने कोरोना कहरका वितरण गरिएको थिएन । अघिल्लो र यस वर्षका पुरस्कृतहरुलाई सोमबार दिल्लीमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामनाथ कोबिन्दले पद्म विभुषण, पद्य भुषण र पद्मश्री पुरस्कार प्रदान गरे ।

अघिल्लो वर्ष क्षेत्री सहित १ सय १८ जनाको नाम पद्मश्रीका लागि घोषणा भएको थियो । यो वर्ष १ सय २ जनाले यो पुरस्कार पाएका छन् । क्षेत्रीसहित सिक्किमका नेपालीभाषी खेलाडी तरुणदीप राई र अर्का नेपालीभाषी सुटिङ खेलाडी जितु राईले पद्मश्री पुरस्कार पाएका हुन् ।

भारतको असमका नेपालीभाषी साहित्यकार क्षेत्री शिक्षा र साहित्यमा विशेष योगदान गरेबापत पुरस्कार प्रदान गरिएको हो । उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा–साहित्यको अथक योगदानका निम्ति जगदम्बा पुरस्कार पाइसकेका छन् ।

Advertisement

तेर्‍हथुमको छथरसुधापबाट पितापुर्खा भारतको आसाम पुगेको र सुरुमा गाइगोठ राखेर जीविकोपार्जन थालेको इतिहास क्षेत्रीले बताउँदै आएका छन् । ८९ बर्षिय लेखक क्षेत्रीले ‘ब्रम्हपूत्र छेउछाउ’ कृतिका लागि भारतकै साहित्य अकादमी पुरस्कार पाइसकेका छन् ।

क्षेत्रीका कृतिहरु नेपालको विश्वविद्यालयमा पाठ्यसामग्री रुपमा पढाइदै आएको छ । ‘यो सम्पूर्ण नेपालीभाषी लेखक र पाठकका निम्ति निकै खुशीको कुरा हो’साहित्यिक पत्रकार रोचक घिमिरेले भने,‘भाषा–साहित्यमा राजनीतिक सीमारेखा वा भूगोलभन्दा पनि सिर्जनशिलता स्थान सधैं स्थायी हुन्छ भन्ने उदाहरण देखिएको छ, यो एकदमै हर्षको कुरा हो ।’

पुरस्कार लिन गुवाहटीबाट दिल्ली पुगेका लेखक क्षेत्रीले ‘पुरस्कारको आशा र अपेक्षा गरेर साहित्य सिर्जनामा आफू लागिनपरेको’ बताउँदै आफ्ना समस्त नेपालीभाषी पाठकले लगाएको गुनको स्मरण गरे । ‘भाषा–साहित्यकै कारण पाएको यो चिनारी र सम्मान सम्पूर्ण नेपालीभाषी पाठकमा समर्पित गर्न चाहन्छु,’क्षेत्रीले भने ।

साहित्यकार क्षेत्रीको ‘बसाई’ उपन्यास मदन पुरस्कार गुठीबाट पहिलोपटक २०१४ सालमा प्रकाशित भएको हो । अहिलेसम्म २८ संस्करणमा प्रकाशित भैसकेको ‘बसाई’ २ लाखभन्दा बढी प्रति बिक्री भैसकेको छ भने यो कथामा फिल्म बनिसकेको छ । ‘बसाई’ लाई माइकल हट र लारी हार्टसेलले अंग्रेजीमा अनुवाद गरेका छन् भने ‘ब्रम्हपूत्रका छेउछाउ’ उपन्यास असमिया, हिन्दी र बंगालीमा अनुदित भइसकेको छ ।