April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कवि त्यागीको ‘साँघुरो सुर्को’ लोकार्पण

२०७८ कार्तिक १४

4.6K

काठमाडौं । युवाकवि विकल त्यागीको कवितासङ्ग्रह ‘साँघुरो सुर्को’ राजधानीमा आयोजित एक समारोहबिच लोकार्पण भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न भएको उक्त कार्यक्रमको आयोजना आदिम आवाज अनलाइन टिभीले गरेको थियो । लोकार्पण समारोहका प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार भूपाल राई र विशेष अतिथि समालोचक तथा कवि डा. विन्दु शर्माले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले विमोचन भनेको आम पाठक सामु नयाँ कृति आएको सूचना दिनु रहेको बताए । त्यस्तै उनले कविता हिजोको अधिकांश कविहरूले लेख्नेजस्तो श्वैरकल्पनाले भरिएको झन्झटिलो नभएर आज आम मानिसको र आफ्नो भोगाइ भएको उल्लेख गरे ।

Advertisement

‘अबको कविता लेखन र पठनले केही फड्को मारेको छ । यद्यपि, कविताका पाठक अझै पनि सीमित नै छन् । यसका पहिलो कारण हो– कविताहरू आम मानिसको पहुँचमा नपुग्नु वा रूचिकर नहुनू । दोस्रो कारण हो– स्तरीय कविताहरू कम लेखिनु ।’ राईले भने ।

त्यसैगरी उनका रचनाहरूमाथि टिप्पणी गर्दै डा. विन्दु शर्माले सङ्ग्रह प्रकाशन गर्न हतारो भएको हो कि भन्ने प्रश्न राखिन् । उनले भनिन्, “त्यागीका कविताहरूको मुख्य विषयहरूमा राजनीति, समसामयिकी र व्यक्तिगत भावुकता रहेको छ । त्यागीभित्र कविव्यक्तित्व ट्ड्कारो रहेको यद्यपि, सङ्ग्रह प्रकाशनमा अलिक हतारो भएको हो कि ? किनकि, कविता भनेको आम मानिसको भाषालाई अक्षरमा उतार्न मात्र नभई आम मानिसको भाषालाई विशिष्टिकृत र संष्लेषित गरेर आफ्नै मौलिक शैलीसहित कवितामा उतार्नु हो ।”

कार्यक्रमका अतिथि, डा. चेतकुमारी गुरूङले शुभकामना मन्तव्यका क्रममा भनिन्, “आफ्नै गाउँको भाइले यति राम्रो कृति पाठकलाई पस्किएकोमा हार्दिक बधाई । तर, हामी गुरूङहरूमा पठन संस्कृतिको निकै कमी रहेकाले यस्ता कृतिलाई हामीले खोजीखोजी पढ्न सके सर्जकलाई थप उर्जा मिल्नेछ ।’ कार्यक्रमका अतिथि समाजसेवी यादव गुरूङ, मदन रिजाल, सीताराम गुरूङ आदिले शुभकामना व्यक्त गरेका थिए ।

नवराज गुरूङको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा कवि त्यागीले धन्यवाद ज्ञापनसहित आफ्ना दुईवटा कविता वाचन गरेका थिए भने सानी नानी सान्भी गुरूङले विमोचित कृतिको एउटा कविता वाचन गरेकी थिइन् ।

पूर्व शिक्षक एवं समाजसेवी रत्नबहादुर गुरूङको अध्यक्षतामा सम्पन्न लोकार्पण कार्यक्रमको आदिम आवाज अनलाइन टिभीले प्रत्यक्ष प्रशारण गरेको थियो ।

‘साँघुरो सुर्को’ त्यागीले विगत अढाइदसकदेखि रचना गरेका कविताहरूको पहिलो सङ्ग्रह हो ।