April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

काठमाडौं महानगरपालिकाका मुख्य-मुख्य सडकमा आधुनिक सडक बत्ती जडान हुने

3.7K

काठमाडौं – काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य-मुख्य सडकमा आधुनिक सडक बत्ती जडान हुने भएको छ। बिहीबार काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच बत्ती जडान गर्न हस्ताक्षर भएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी लगायतका क्षेत्रमा करिब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको हो।

Advertisement

मन्त्री नेम्बाङले संघीय राजधानी समेत रहेको महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियानअन्तर्गत यो योजना अघि बढेको बताए।

‘संघीय राजधानीसमेत रहेको महानगरलाई व्यवस्थित ढंगले उज्यालो महानगर बनाउने अभियानलाई मूर्तरूप प्रदान गर्न काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच आज हस्ताक्षर भएको छ,’ मन्त्री नेम्वाङले भने,’ ‘आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने गरी यो परियोजना सफल बनाउने गरी लाग्नुहोला।’

मन्त्री नेम्बाङले मन्त्रालय धुलोरहित, हिलोरहित काठमाडौं बनाउने अभियानमा यसअघिदेखि नै सक्रिय रहेको भन्दै महानगरपालिकाको पहलमा उज्यालो काठमाडौं महानगर बनाउने अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताए।

महानगरपालिकाका प्रमुख शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे।