November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

याक्थुङ समुदायमा देखा परेको विवाद प्राज्ञिक ढंगले सुल्झाउनुपर्छ : चुम्लुङ अध्यक्ष वनेम

6.4K

ललितपुर । याक्थुङ लिम्बु समुदायमा देखा परिरहेको बहसहरू स्वाभाविक भएको भन्दै प्राज्ञिक हिसाबले निरुपण गर्नुपर्ने किरात याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष योगराज वनेमले बताएका छन् । उनले चुम्लुङ समुदायको सबै मुद्दाहरूप्रति सचेत रहेको जनाउँदै संयमित भएर बहसमा उत्रन सबैलाई आग्रह समेत गरे ।

चुम्लुङ स्थापनाको ३३ औँ वर्षगाँठको अवसरमा केन्द्रीय समितिले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष वनेमले भने, ‘समुदायमा विविध विषय र मुद्दाहरूमा बहस छन् । याक्थुङ कि लिम्बु, युमा कि किरात भन्ने छँदैछ । आफूलाई चिनाउने सवालमा तर्कहरू छन्,’ उनले भने, ‘हुँदाहुँदै लिपिको नाम र प्रयोगका बारेमा मतहरू आएका छन् । चुम्लुङको आफ्नै संस्थागत निर्णयहरू छन् । तर, विचारहरू क्रमशः परिवर्तनशील हुन्छन् । सामाजिक सञ्जालदेखि आम बहसमा उत्रनुहुनेहरूलाई संयमित ढंगले प्रस्तुत हुन आग्रह गर्छु ।’

अध्यक्ष वनेमले भविष्यमा भाषा तथा साहित्य, मुन्धुम र पाठ्यक्रम निर्माणका विषयमा राष्ट्रिय गोष्ठीहरू आयोजना गरेर समुदायका आन्तरिक बहसहरूलाई व्यवस्थित गर्ने योजना सुनाए । उनले आगामी फागुनमा हुने राष्ट्रिय महाधिवेशन वैचारिक प्रष्टता ल्याउनका लागि महत्वपूर्ण हुने समेत बताए । त्यसैगरी, याक्थुङ भाषाविद् एवम् चुम्लुङको विषयगत संगठन लिम्बु भाषा तथा साहित्य प्रतिष्ठानका अध्यक्ष येहाङ लाओतीले भर्खरै भाषा आयोगले याक्थुङ लिम्बु भाषालाई प्रदेश एकको सरकारी कामकाजी भाषाका लागि उपयुक्त भएको सिफारिस गरिनु सुखद रहेको प्रतिक्रिया दिँदै त्यसका लागि आवश्यक जनशक्ति जुटाउन काम थाल्नुपर्ने बताए । ‘अब उच्च तहसम्म मातृभाषामा पठनपाठनका लागि काम गर्नु त छँदैछ । याक्थुङ भाषामै बोलचाल गर्ने अभियानको पनि व्यापकता हुनुपर्छ,’ लाओतीले भने ।

Advertisement

महासचिव निरन्ती तुम्बापो र सचिव यासेली योङहाङले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष प्रेम येक्तेनले स्थापना जयन्ती पाँच दिन मनाउन लागिरहेको जानकारी दिए । शुभकामना आदान प्रदानमा कियाचु अष्ट्रेलिया उपाध्यक्ष विनोद सिरेङ चोङवाङ, कियाचु पोर्चुगलका अध्यक्ष प्रेम निङ्लेकु, कियाचु मलेसियाका उपाध्यक्ष पदम राज लिम्बु, कियाचु जापानका सचिव मुक्साम लाओती, कियाचु यूकेका प्रतिनिधि अमित थेवे, कियाचु मकाउका महासचिव मेघराज याक्थुङ्बा, कियाचु दक्षिण कोरियाका अध्यक्ष मिराक लिम्बु लगायतले प्रवास चुम्लङ संगठनका तर्फबाट शुभकामना मन्तव्य राखेका थिए । त्यसैगरी, कियाचु लिम्बुवान प्रदेश समितिका मुख्य सचिव मधु केरूङ, ललितपुर जिल्ला अध्यक्ष टङ्क जवेगू, पान्थर जिल्ला उपाध्यक्ष सुवास राज जवेगू, झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, पूर्व केन्द्रीय उपाध्यक्ष चन्द्रमाया माबो लगायतले पनि शुभकामना दिएका थिए । कार्यक्रममा उपाध्यक्षहरू डा. कमल तिगेला, गोविन्द आङबुङ लगायतका केन्द्रीय पदाधिकारी सदस्यहरू समेत उपस्थित रहेका थिए ।

कियाचु नेपालको स्थापना वि.सं. २०४६ भदौ १७ मा भएको थियो । यसको सङ्गठन हाल पूर्वको नौ जिल्ला, चितवन, उपत्यकाका तीन जिल्ला, कास्कीको पोखरमा छन् । नगरपालिका, गाउँपालिका र वडा समितिहरूमा करिब दश हजार बढी सदस्यहरू रहेको केन्द्रीय समितिले जनाएको छ । प्रवासका करिब १८ मुलुकहरूमा चुम्लुङ सक्रिय छन् । चुम्लुङले आफ्नो पाँचवटा विषयगत सङ्गठनहरूमार्फत् पनि विधागत गतिविधिहरू बढाइरहेको छ । २०६३ मा सम्पन्न छैटौँ महाधिवेशनबाट चुम्लुङले ऐतिहासिक पहिचानका आधारमा अरूण–सप्तकोसीपूर्व लिम्बुवान प्रदेश स्थापनाका लागि लड्ने कार्यनीतिक नारा समेत पारित गरेको छ ।

अनलाइन याक्थुङ ललितकला प्रर्दशनी

चुम्लुङको स्थापनाकै सन्दर्भ पारेर याक्थुङ समुदायका कलाकारहरूको कला प्रर्दशनी पनि राखिएको थियो । १३ जना कलाकारहरूको चित्रकला र फोटोग्राफी प्रर्दशन भएको कार्यक्रममा किरण कुमार सिगु, सुवास थेवे लिम्बु र मेख लिम्बुले कला प्रर्दशनीको ओचित्य र प्रयोग गरिएको साधन, विचार र कलाबारे बोलेका थिए । एक्रेलिक, डिजिटल प्रिन्ट, रातो माटो, बाँसको चोया, तेल, काठ, धातु, फोटोग्राफी आदिका माध्यमबाट बनाइएका चित्रहरूको मूल्य नेपाली पच्चीस रूपैयाँदेखि दुई लाख पच्चीस रूपैयाँसम्म छन् । फाइन आर्टसमा स्नातकोत्तर गरेका कलाकार सिगुले निराशालाई ज्ञानप्राप्तिको माध्यम बनाउन कलालाई समुदायले प्रयोग गर्नुपर्ने बताए ।

‘कला या पेन्टिङ फगत मनोरञ्जनका लागि मात्रै हुनु हुन्न । हामीमाथि भएका अत्याचार, दमन र विभेदलाई पनि एउटा चित्रको माध्यमबाट देखाउन सके कलाको शक्ति र सामथ्र्य प्रकट हुने थियो,’ उनले भने । सिगुकै भनाइलाई समर्थन गर्दै अर्का कलाकार सुवास थेवेले आदिवासी याक्थुङ समुदायको सभ्यता र अस्तित्वबारे आफू बेलाबेला चिन्तित भएको भन्दै डकु फिक्सनमार्फत देखाउन काम गरिरहेको बताए । आदिवासी भविष्यवादमा आधारित ‘निङ्वासुम’ को छायाङ्कन गर्न उनी यतिबेला लन्डनबाट नेपाल आएका छन् । फिल्ममा पूर्व मिस नेपाल सुविन लुम्फुङ्वा लिम्बु र अहिलेका चर्चित वृत्तचित्र निर्देशक शान्ता नेपालीले समेत अभिनय गरेका छन् । यसैगरी, धनकुटाका कलाकार मेख लिम्बुले कलालाई पुस्ताहरूको बुझाइको दूरी हटाउन उपयोग गर्नुपर्ने राय राखे । उनी विशेषतः डिजिटल प्रिन्ट माध्यमबाट आफ्नो काम देखाउन माहिर मानिन्छन् ।

भदौ १५ देखि १७ गतेसम्म ललितपुरको चुम्लुङ हिममा एकसाथ प्रर्दशनी र बिक्रीमा राख्न लागिएका चित्र र तस्वीरहरूका अन्य कलाकारहरूमा नविन्द्र लिम्बु, सुरज सुब्बा, कला लिम्बु, प्रेमहाङ वनेम, सिसागेन जवेगू, विजय लाओती, विनोद लिम्बु, प्रताप लिम्बु, विशाल लिम्बु, आयुष आङ्थुपो लिम्बु र जय राम रहेका छन् ।